घाँस काट्न गएकी महिलालाई आक्रमण गर्ने बाघ नियन्त्रणमा, महिलाको अवस्था अज्ञात

महेन्द्रनगर : कञ्चनपुरको बेलौरी नगरपालिकामा एक महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको छ।
उक्त बाघले आक्रमण गरी शुक्रबार बेलौरी-८ पचुँइका गंगादेवी चन्दलाई बेपत्ता परेको थियो। प्राविधिक टोली करिब २२ घण्टापछि बाघ नियन्त्रणमा लिन सफल भएको हो।
टोली पुग्नुअघि बाघलाई घेरा हालेर निगरानी गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको भए पनि महिलाको अवस्था भने अज्ञात रहेको बताए।
बाघलाई नियन्त्रणपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लैजाने बताइएको छ भने बेपत्ता महिलाको खोजीमा प्रहरी र स्थानीयवासी सक्रिय रहेका छन्।
चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो। सो क्रममा अन्य महिला भागेर ज्यान जोगाउन सफल भएका थिए।
वैशाख ९, २०८० शनिबार ११:००:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।