हिउँदमा पानी नपर्दा डढेलोले बागलुङको ४५० हेक्टर वन सकियो

बागलुङ : सुक्खायाम सुरु भएसँगै बागलुङको करिब ४५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ। आगलागी भएका मध्ये पाँच राष्ट्रिय र १७ सामुदायिक वन हुन्।
गत माघदेखि सुरु भएको आगलागीको शृङ्खला रोकिएको छैन। माघ १८ गते पहिलो पटक जिल्लाको तमानखोला गाउँपालिकाको खुंखानीमा पर्ने हापली छहरा मठुरे राष्ट्रिय वनमा आगलागी भएको थियो।
गत वर्ष हिउँदमा वर्षा हुँदा बागलुङका वन क्षेत्रमा आगलागी भएको थिएन। एकाध वन क्षेत्रमा लागेको आगोसमेत समयमै स्थानीयले नियन्त्रणमा लिएका थिए। यस वर्ष हिउँद सुक्खा हुँदा अधिकांश वन क्षेत्र आगलागीको जोखिममा परेको बताइएको छ।
हाल पनि वस्ती नजिकका सामुदायिक तथा निजी आवादी वन क्षेत्र र सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भइरहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताए।
जानाजानी वा दुर्घटनावश बिहीबारसम्म बागलुङका २२ वनमा डढेलो लागेको तथ्याङ्क छ। केही तथ्याङ्क भने आउनै बाँकी छ। यस वर्ष सबैभन्दा धेरै आगलागी बागलुङ नगरपालिकाका वनमा भएको छ।
जिल्लामा एक लाख पाँच हजार पाँच सय एक हेक्टर जमिनमा वन फैलिएको छ।
वैशाख ९, २०८० शनिबार १०:३२:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।