आइपीएलमा चेन्नईको चौथो जित, हैदराबादलाई हराउँदै लिगको तेस्रो स्थानमा

आइपीएलमा चेन्नईको चौथो जित, हैदराबादलाई हराउँदै लिगको तेस्रो स्थानमा

एजेन्सी : चेन्नई सुपर किंग्स सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आइपीएल) को तेस्रो स्थानमा उक्लिएको छ।

घरेलु मैदानमा चेन्नईको जितमा ओपनर डेभन कन्वेले अर्धशतकीय इनिङ खेले।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १३४ रन बनायो। खराब ब्याटिङ गरेको हैदराबादका लागि अभिषेक शर्माले सर्वाधिक ३४ रन बनाएका थिए। 

उत्कृष्ट बलिङ गरेका चेन्नईका रविन्द्र जडेजाले ४ ओभरमा मात्र २२ रन खर्चेर ३ विकेट लिएका थिए। जवाफमा १३५ रनको विजय लक्ष्य चेन्नईले १८.४ ओभरमै मात्र ३ विकेट गुमाउँदै पूरा गर्यो।

चेन्नईको जितमा ओपनर डेभन कन्वेले ५७ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक अविजित ७७ रनको योगदान दिए।

लिगमा यो चौथो जितसँगै चेन्नई ६ खेलबाट ८ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ।

८ अंक नै भएपनि नेटरनरेटका आधारमा राजस्थान लिगको पहिलो र लखनउ दोस्रो स्थानमा छन्। हैदराबादको भने ६ खेलमा मात्र ४ अंक छ।

वैशाख ९, २०८० शनिबार ०७:४१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।