नौ वाणिज्य बैँकमाथि राष्ट्र बैँकको कारबाही, पाँच करोडसम्म जरिवाना

नौ वाणिज्य बैँकमाथि राष्ट्र बैँकको कारबाही, पाँच करोडसम्म जरिवाना

काठमाडौँ : नियामकीय व्यवस्था उल्लङ्घन गरेको भन्दै नेपाल राष्ट्र बैङ्कले ९ वटा वाणिज्य बैङ्कलाई कारबाही गरेको छ। राष्ट्र बैँकको सुपरिवेक्षण विभागले उनीहरूलाई जरिमानासहित कारबाही गरेको हो।

राष्ट्रिय वाणिज्य बैङ्क, कुमारी बैङ्कसँग गाभिएको एनसीसी बैङ्क, कुमारी बैङ्क, तत्कालीन सेन्चुरी बैङ्क, हिमालयन बैङ्क, ग्लोबल आइएमइ, नबील बैङ्क र कृषि विकास बैङ्क कारबाहीमा परेका हुन्।

राष्ट्रिय वाणिज्य बैङ्क सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लङ्घन गरेकोले कारबाहीमा परेको हो। उसलाई राष्ट्र बैङ्कले १० लाख रूपैयाँ जरिवाना गरेको छ।

कुमारी बैङ्कसँग गाभिएको एनसीसी बैङ्क दुई पटक कारबाहीमा परेको छ। प्रमुख कार्यकारी अधिकृतले आफ्नो अख्तियारी भन्दा बाहिर गई कर्जा स्वीकृत गरेको भन्दै तत्कालीन नेपाल क्रेडिट एन्ड कमर्स बैङ्क लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठमाथि पाँच लाखको जरिवाना भएको छ।

राष्ट्र बैङ्कले तत्कालीन एनसीसी बैङ्कलाई एकै समूहलाई एक भन्दा बढी सहुलियतपूर्ण कर्जा दिएको, आवश्यकता अनुसार प्रोभिजन नगरेको र कर्जाको प्रिमियम दरमा परिवर्तन गरेकोले भन्दै सचेत गराएको जानकारी दिएको छ।

निक्षेपमा प्रकाशित भन्दा बढी ब्याज दिएको, जोखिममा रहेको कर्जामा पर्याप्त प्रोभिजन नगरेको र कर्जाको जोखिम भार कम गणना गरेको भन्दै एनसीसी बैँकसँगै मर्जर भएको कुमारी बैङ्कलाई राष्ट्र बैङ्कले सचेत गराएको छ।

प्रभु बैङ्कमा गाभिएको तत्कालीन सेन्चुरी बैङ्कले २०७९ साउन र भदौमा सिडी रेसियो कायम नगर्दा १ करोड ८४ लाख रूपैयाँ नगद जरिमानामा परेको छ।

नेपाल बैङ्कले गत साउनमा सिडी रेसियो कायम गर्न नसक्दा १८ लाख ५९ हजार रूपैयाँ नगद जरिवाना गराएको छ। नबील बैङ्कले साउन, भदौ र असोजमा सिडी रेसियो उल्लङ्घन गर्दा ६ करोड ४६ लाख ४५ हजार नगद जरिवाना गरेको राष्ट्र बैङ्कले जनाएको छ।

ग्लोबल आईएमई बैङ्कलाई ४ करोड ४२ लाख ४६ हजार रूपैयाँ नगद जरिवाना भएको छ। बैङ्कले २०७९ भदौ र असोजमा राष्ट्र बैङ्कले तोकको अनुपातमा सिडी रेसियो कायम नगर्दा जरिवाना भएको हो।

कृषि विकास बैङ्कले ६९ लाख ५८ हजार रूपैयाँ नगद जरिवाना भएको छ। २०७९ भदौ महिनामा बैङ्कले राष्ट्र बैङ्कले तोकेको अनुपातमा सिडी रेसियो कायम गर्न नसक्दा जरिवाना तिराएको हो।

हिमालयन बैङ्कले ७१ लाख ७२ हजार रूपैयाँ जरिमाना तिरेको छ। बैङ्कले पनि २०७९ भदौमा सिडी रेसियो तोकेअनुसार कायम गर्न नसक्दा राष्ट्र बैङ्कले कारबाही गरेको हो।

वैशाख ८, २०८० शुक्रबार १५:४६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।