६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी साधनको आयात

६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी साधनको आयात

काठमाडौं : चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ प्रतिशतभन्दा बढीले बढेको छ।

भन्सार विभागका अनुसार यस समयमा दुई हजार चार सय  ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ। गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए। 

विभागको तथ्यांक अनुसार चैतमा मात्रै दुई सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन्। गत आवको सोही अवधिमा एक सय १६ वटा मात्र विद्युतीय सवारी साधान आयात भएको थियो। 

जसअनुसार सबैभन्दा धेरै भारतबाट विद्युतीय सवारी आयात भएका हुन्। भारतबाट एक सय किलोवाट क्षमताका एक हजार सात सय ५५ वटा विद्युतीय सवारी आयात भएका छन्।

भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडीहरु चीनबाट नेपाल भित्रिएका छन्। यस समयमा भारतबाट मात्रै रु चार अर्ब ७१ करोड ९८ लाख बराबरको विद्युतीय सवारी आयात भएका छन्।

चालू आर्थिक वर्षको नौ महिनामा करिब सात अर्ब बराबरका विद्युतीय सवारी साधान नेपाल भित्रिएका छन्। भन्सार विभागका अनुसार चैत मसान्तसम्म दुई हजार ४५१ वटा विद्युतीय सवारी आयातमा रु छ अर्ब ८५ करोड ७९ लाख बाहिरिएको छ।

वैशाख ८, २०८० शुक्रबार १४:००:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।