तनहुँमा भ्रष्टाचारका अभियुक्त जोशीको समर्थन लिएका रविले चितवनमा भने' उपनिर्वाचनमा भएको खर्च भ्रष्टाचारीबाट असुल्छु'

तनहुँमा भ्रष्टाचारका अभियुक्त जोशीको समर्थन लिएका रविले चितवनमा भने' उपनिर्वाचनमा भएको खर्च भ्रष्टाचारीबाट असुल्छु'

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच वर्षपछि आफ्नो पार्टीको नेतृत्वमा दुई तिहाइसहितको सरकार बनाउने दाबी गरेका छन्।

नागरिकतामा सर्वोच्चबाटै दोषी ठहरिएका अनि दोहोरो राहदानीमा सरकारसँग समर्थन र विश्वासको मतसँग बार्गेनिङ गरेर महान्यायाधिवक्ताको कार्यालयमार्फत मुद्दा नचल्ने निर्णय गराए पनि सर्वोच्चमा विचाराधीन रहेको मुद्दालाई  आफ्नो पुरानै शैलीमा निरन्तरको घेराबन्दी र निरन्तरको षडयन्त्र भएको संज्ञा दिँदै सभामा उपस्थितहरूलाई भ्रममा पार्ने प्रयास गरे।

उनले त्यस्ता षडयन्त्र र घेराबन्दी चिरेर अगाडि बढेको र खुट्टा नकमाएको दाबी गरे।

'म माथि विभिन्न लाञ्छना लगाएको छन्। कागजमा खोट थियो होला। मैले मेरो कमजोरी स्वीकार गरेको छु' उनले भने।

उनले निष्क्रिय नागरिकताको आधारमा निर्वाचित हुँदा चितवन-२ मा उपनिर्वाचन भएर राज्य कोष खर्च गराएको आरोपमा प्रस्टीकरण दिन बाराको उपनिर्वाचनलाई उदाहरण दिए।

एउटा सांसदलाई उपराष्ट्रपति बनाएर निर्वाचनमा हारेका व्यक्तिलाई बाराबाट सांसद बनाउन उपनिर्वाचन भइरहेको भन्दै त्यसमा पनि राज्य कोष खर्च भएको बताए।

उनले आफ्नो कारण भएको खर्चको जिम्मा लिनुपरे भ्रष्टाचारीको घरबाट लिएर राज्यलाई दिने दाबी गरे। तनहुँ-१ का उम्मेदवार स्वर्णिम वाग्लेलाई भ्रष्टाचारको मुद्दा खेपिरहेका गोविन्दराज जोशीको समर्थन लिइरहेका रास्वपाका सभापति समेत रहेका रविले दाबी गरे' भ्रष्टाचारको महल भत्काएपछि मात्र गरिबको छाप्रो भत्काउने हो।'

जोशी लामो समय नेपाली काँग्रेसको सक्रिय राजनीतिमा संलग्न रहेर पटक-पटक मन्त्री बनेका थिए। उनी विरुद्धको भ्रष्टाचारको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

उनले आफ्नो पार्टी धर्मको प्रचारमा संलग्न नरहेको दाबी गरे। आफ्नो चालक लडेर घाइते हुँदा पनि आफूमाथि लाञ्छना लगाउने घृणित काम भएको उनले बताए।

उनले पहिला पत्रिकामा प्रकाशित समाचार पढ्दा अहो यस्तो पो गरेछ भन्ने गरेकोमा अहिले ह्या यो पत्रिकाले यस्तो लेखेछ भन्ने अवस्था आएको भन्दै आफू गृहमन्त्रीहुँदा राष्ट्रिय परिचयपत्रको रुझूँ गर्ने जिम्मा निजी कम्पनीलाई दिएको समाचारप्रति प्रहार गरे।

कार्यविधि स्वीकृति र ठेक्काका लागि सात दिनको समय दिने निर्णय सार्वजनिक खरिद ऐन र नियमावली विपरीत रहेको स्वीकार गरिसकेका छन्। आफैंले स्वीकार गरेको गलत कामबारे प्रकाशित समाचारलाई उनले पूर्वाग्रही भएको दाबी गरे।

वैशाख ७, २०८० बिहीबार १८:५३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।