१५ दिनभित्र माग पूरा नभए फोहोर फाल्न नदिने दुई पालिकाको चेतावनी

काठमाडौं : नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले ६ बुँदे माग १५ दिन भित्रमा पूरा नभए काठमाडौं उपत्यकाको फोहोर फाल्न नदिने चेतावनी दिएको छ।
दुई पालिकाको प्रतिनिधिहरू बुधबार बैठक बसेर संयुक्त विज्ञप्ति जारी गर्दै गत वर्ष बञ्चरेडाँडा र सिसडोलबासीसँग गरेको सम्झौता १५ दिनभित्र कार्यान्वयन गर्न माग गरेका हुन्।
२०७९ जेठ २३ गते, नेपाल सरकार, शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिबेशी नगरपालिका र ककनी गाउँपालिकाका सरोकारवालाहरूबीच र जेठ २६ गते काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षहरूबीच सम्झौता भएको थियो।
फोहोर मैला व्यवस्थापनको लागि वैज्ञानिक तथा आधुनिक प्रविधिवाट विज्ञ टोली गठन गरि न्यून प्रभाव पर्ने गरि फोहोरमैला व्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिब्बडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ।
दुई पालिकाका अति प्रभावित, प्रभावित र बेलकोटगढी नगरपालिकालाई वर्गिकरण गरि बञ्चरेडाँडाबाट २ किमि क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने प्रभावितलाई मुआब्जाको प्रकृया तुरुन्त अगाडि बढाउनुपर्ने, सिसडोल र बञ्चरेडाँडामा गरिएको ईआईको बारे जानकारी गराउन उनीहरूले माग गरेका छन्।
ककनी गाउँपालिका, धुनिवेशी नगरपालिका वडाहरूमा वार्षिक १० करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासमा लगानी गर्नको लागि नेपाल सरकार, काठमाडौं महानगरपालिका र सरोकारवाला निकायमा बजेट विनियोजनको माग उनीहरूले गरेका छन्।
फोहोरमैला व्यवस्थापन गर्ने सन्दर्भमा स्थानीय अति प्रभावित प्रभावित र न्यून प्रभावितले आफ्ना मागहरु राख्ने क्रममा आन्दोलन गर्दा विभिन्न झुट्टा मुद्दा लगाई पक्राउ पुर्जी जारी गरिएको हुदाँ स्थानीयमाथि थप चोट पुगेकाले तत्काल त्यस्ता प्रकृतिका मुद्दाहरू फिर्ता लिइ उनीहरूको मानव अधिकार संरक्षण गर्नुपर्ने उनीहरूको माग छ।
१८ वर्षदेखि काठमाडौं महानगरपालिकालगायत १८ वटा नगरपालिकाहरूको फोहोर विसर्जन हुँदै आएको छ।
वैशाख ७, २०८० बिहीबार ११:०४:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।