स्वीस राजदूतसँगै अन्तर्राष्ट्रिय लगानीकर्तासँग अर्थमन्त्रीको छलफल

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वीस राजदूत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूसँग छलफल गरेका छन्।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरूको संस्था डेभलभमेन्ट फाइनान्स इन्स्टिच्युसन (डिएफआई)का प्रतिनिधिहरूसँग नेपालमा लगानी विस्तार गर्ने सम्बन्धमा छलफल भएको हो।
प्रक्रृयागत र नीतिगत सहजीकरण गरेर नेपालमा लगानी आकर्षित गर्ने विषयमा डिएफआईका प्रतिनिधिहरूले ६ वटा सुझाव प्रस्तुत गरेका थिए। सो क्रममा मन्त्री डा. महतले डिएफआईका प्रतिनिधिहरुबाट प्राप्त सुझावहरू अध्ययन गरी उपयुक्त सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपालको लगानी क्षेत्रमा रहेको नीतिगत र नीयमन संयन्त्रबारे चर्चा गर्दै मन्त्री महतले लगानी आकर्षण गर्न नयाँ ढंगले वर्तमान सरकार लागिरहेको जानकारी दिए।
सन् २०२६ पछि नेपाल अति कम विकसित मुलुकहरूको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस गरेको सन्दर्भमा अब परम्परागत वैदेशिक सहायताहरू कम गरी विकासका लागि नयाँ औजारहरू लिएर अघि बढ्न छलफल सान्दर्भिक रहेको डा. महतले बताए।
छलफलमा डिएफआइका तर्फबाट एडिबी, ब्रिटिसको बिआईआई, अमेरिकाको डिएफसी, नेदरल्याडको एफएमओ, फ्रान्सको प्रोपार्को र स्विसको एसआइएफइएमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
वैशाख ६, २०८० बुधबार १८:४८:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।