सचेत रहनुस् : बढ्दो छ सामाजिक सञ्जालमार्फत अश्लील क्रियाकलापमा संलग्न गराइ ब्ल्याकमेल गर्ने घटना

सचेत रहनुस् : बढ्दो छ सामाजिक सञ्जालमार्फत अश्लील क्रियाकलापमा संलग्न गराइ ब्ल्याकमेल गर्ने घटना

काठमाडौं : हाल विभिन्न सामाजिक सञ्जालमार्फत अश्लील क्रियाकलापमा संलग्न हुन लगाएर, त्यसको भिडियो रेकर्ड गरी ब्ल्याकमेल गर्ने क्रियाकलाप बढेकाले सचेत रहन प्रहरीले सबैलाई अनुरोध गरेको छ।

यस्ता घटनाहरू पछिल्लो समय धेरै बढ्दै गइरहेकोले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले सचेतनाका लागि सूचना जारी गरेको हो।

प्रहरीका अनुसार विगत केही समयदेखि व्यक्ति र आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाएर फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो आदिमा भिडियो कल गर्ने गर्छन्।

यसका साथै अपरिचित व्यक्ति आफैंले अश्लील क्रियाकलाप देखाइ सम्बन्धित व्यक्तिलाई भ्रममा पार्ने गरेको देखिएको छ। त्यसपछि कल गर्ने व्यक्तिले अश्लील क्रियाकलापमा संलग्न हुने वातावरण बनाइ उक्त भिडियो कलको रेकर्ड गर्ने गर्दछन्।

तत्पश्चात् साइबर अपराधमा फसाइदिन्छु, सामाजिक तथा पारिवारिक सम्बन्ध तहसनहस गराइदिन्छु भन्ने किसिमका धम्की दिई ब्ल्याकमेल गर्ने र बारम्बार रकम माग गर्ने गरेका घटनाहरू हुने गरेको पाइएको छ।

त्यसैले प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा यस्ता क्रियाकलाप प्रति सहज रहन तथा अपरिचित आईडी वा ह्वाट्सएप, भाइबर लगायतका नम्बरबाट कुनै पनि कल आएमा यकिन गरी मात्र कुरा गर्न जनचेतनाको लागि सबैमा अनुरोध गरेको छ।

वैशाख ६, २०८० बुधबार १२:०५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।