प्रधानन्यायाधीशको नाम सिफारिस भएन, सामान्य छलफलमै सकियो बैठक

काठमाडौं : प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने रणनीतिसहित सरकारले राखेको संवैधानिक परिषदको बैठक सामान्य छलफलमै टुंगिएको छ। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार बैठक बसेको थियो। बैठकमा सत्तापक्ष अल्पमतमा छ।
वैशाख ४ गते एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा बसेको प्रमुख तीन दलबीचको बैठकले संवैधानिक परिषदको बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको दाबी सार्वजनिक भएको थियो। तर सहमति अनुसार निर्णय हुन सकेन।
बैठकपछि पत्रकारहरुसँग कुरागर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्तिको विषयमा बैठकमा छलफल भएको तर निर्णय हुन नसकेको बताए। अर्को बैठकले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने उनले बताए।
प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओली सहभागी थिए।
वैशाख ६, २०८० बुधबार ११:४०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।