झारफुकबाट मृत्यु प्रकरणः एक जना पुर्पक्षका लागि थुनामा, अरू सबै रिहा

बुटवल : रुपन्देहीको सैनामैना १० फूलबारी टोलमा झारफुकबाट मृत्यु भएको प्रकरणमा अदालतले एक जनालाई मात्र पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। घटनामा संलग्न अन्यलाई भने अदालतले रिहा गरेको छ।
सालझण्डी बजारदेखि २ किलोमिटर उत्तर फूलबारी टोलकी १४ वर्षिया सीता ज्ञवालीको गत फागुन २० गते राती झारफुक गर्ने नाममा दिइएको चरम यातनापछि मृत्यु भएको थियो।
प्रहरीले घटनाको अनुसन्धानको क्रममा १७ जनालाई पक्राउ गरेको थियो। उक्त मुद्दामा भएको सुनुवाइपछि जिल्ला अदालत रुपन्देहीको आदेशमा माता भनिने रेश्मी थापालाई पुर्पक्षका लागि जेल चलान गरि अरूलाई धरौटी र साधारण तारेखमा छोडिएको छ।
उक्त घटनामा प्रत्यक्ष संलग्न रहेको भनिएकी माता सैनामैना १० बेमटेनी टोलकी सोनिया रेश्मी, बालिकाका बाबु तारा ज्ञवाली र आमा लीलासहित छिमेकी तथा आफन्त गरी १८ जनालाई प्रहरीले अनुसन्धानको लागि पक्राउ गरी मुद्दा चलाएको थियो।
इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार बालिकाका बुबा तारा, आमा लीला, भिडिओ खिच्ने ईश्वरी ज्ञवाली र अटोमा माताकोमा लिएर जाने निमकला पाण्डे ५० हजार धरौटीमा रिहा भएका छन्। अन्य १३ जना भने साधारण तारेखमा छुटेका छन्।
सैनामैना १० बेमटेनी टोलकी सोनिया रेश्मीले झारफुक गर्ने भन्दै चरम यातना दिएको भिडियो फागुन २१ गते सामाजिक संजालमार्फत सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।
अनुसन्धानको क्रममा बालिका सीताको २० गते राती मृत्यु भएको र सोही रात नै कपिलवस्तुको लक्ष्मण घाटमा लगी उनको दाहसंस्कार गरेको पाइएको थियो।
प्रहरीका अनुसार अनुसन्धानको क्रममा फागुन २६ गते झारफुकमा प्रत्यक्षदर्शी बनेका र दाहसंस्कारमा सहभागी भएका गरि १७ जनालाई पक्राउ गरिएको थियो। त्यसपछि फागुन २९ गते मृतक बालिकाकी आमा लीला ज्ञवालीलाई पनि पक्राउ गरि अनुसन्धान कार्य अगाडि बढाइएको थियो।
वैशाख ६, २०८० बुधबार १०:४४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।