आज पनि घट्यो शेयर बजार, मात्र ८६ करोडको कारोबार

आज पनि घट्यो शेयर बजार, मात्र ८६ करोडको कारोबार

काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन पनि शेयर बजारमा गिरावट आएको छ। यसअघि आइतबार र सोमबार पनि बजार घटेको थियो।

मंगलबार नेप्से ३ अंकले घटेर १९०४.९८ विन्दुमा झर्दा सेन्सेटिभ इन्डेक्स भने झिनो अंकले बढेको छ। आज सेन्सेटिभ परिसूचक ३६३.०४ विन्दुमा छ।

कारोबार उपसूचकहरूमध्ये होटल तथा पर्यटन, म्युचल फन्ड र निर्जीवन बीमा समूह आज सामान्य अंकले बढ्दा अन्य उपसूचक समूहहरू राताम्मे छन्।

बजार घट्दा कारोबार रकममा समेत कमी आएको छ। यसदिन २६६ कम्पनीका २९ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ८६ करोड ७६ लाख रुपैयाँको कारोबार भयो। यो सोमबारको भन्दा कम हो।

कम्पनीको आधारमा कारोबार रकमको कुरा गर्ने हो भने आज प्रभु बैंक लिमिटेडको प्रोमोटर शेयरमा ५ करोड २६ लाखको कारोबार भएको छ। दोस्रो स्थानमा शिवम् सिमेन्टले ३ करोड ९८ लाखको कारोबार गरेको छ।

उता आज पनि कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावर कम्पनीले सकारात्मक सर्किट हानेको छ। त्यसका लगानीकर्ताले १० प्रतिशतले कमाए।

वैशाख ५, २०८० मंगलबार १५:०८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।