‘प्रहरीले मिटरब्याज पीडितलाई महेन्द्र पुलिस क्लबमा लगेर कुट्यो’

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको शान्तिवाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितहरूलाई नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लबमा राखेपछि प्रहरीले कुटपिट गरेको जनाएको छ।
प्रहरीद्वारा अत्यधिक बल प्रयोग गरी घाइते बनाएको घटनामा आयोगले गरेको अनुगमनमा पीडितहरूले प्रयोग गरिरहेको खाना पकाउने ग्याँस, खाद्यान्नलगायतका सामग्रीहरू जबरजस्ती गरी लगिएको, धर्नामा रहेका प्रदर्शनकारी र वृद्धवृद्धाहरूलाई समेत नियन्त्रणमा लिई महेन्द्र पुलिस क्लबको भवन परिसरमा लगी कुटपिट गरिएकोे देखिएको आयोगले जनाएको छ।
यस्तै अनुगमन टोलीले घाइतेहरूलाई पनि भेटेकोमा अधिकांशलाई टाउकोमा चोट लागेको र ट्रमा सेन्टरमा उपचाररत तीनजना गम्भीर रहेको जनाएका छन्। प्रहरीले गरेको धरपकडले मानवअधिकारको विश्वव्यापी घोषणाापत्रको उल्लंघन गरेको भन्दै नागरिकका अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ।
साथै, आयोगले विरोध र प्रदर्शन गर्दा मर्यादित र शान्तिपूर्ण रूपमा गर्न धर्नामा बसेकाहरूलाई समेत अनुरोध गरेको छ।
वैशाख ५, २०८० मंगलबार १४:२५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।