नेपालले उपभोग गर्नेभन्दा बढी ऊर्जा उत्पादन गर्नु गर्वको कुरा हो : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समृद्धिका लागि आन्तरिक खपत वृद्धि गर्दै बिजुलीको निर्यात गर्नु आवश्यक रहेको बताएका छन्।
‘पावर समिट–२०२३’ लाई सम्बोधन गर्दै उनले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिएको उल्लेख गरे। साथै उनले यसमा थप लगानी गर्नु प्रमुख कार्यभार भएको उल्लेख गरे।
‘हामी सुक्खा मौसममा पनि बिजुली आयात गर्न आवश्यक नपर्ने गरी सन् २०२५ सम्म निर्यात हुने अपेक्षा गर्छौं। त्यसैले हामी हरित ऊर्जाका लागि बजार फराकिलो बनाउनेका लागि उत्तम रणनीतिका साथ यस क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशीको अनुभवबाट सिक्न यहाँ भेला भएका छौं,’ आजदेखि यहाँ सुरु भएको सम्मेलनमा उनले भने।
उनले नेपालले मौसमी रूपमा नै भए पनि उपभोग गर्नेभन्दा बढी ऊर्जा उत्पादन गर्छ भन्ने विश्वसामु घोषणा गर्न पाउँदा ठूलो गर्व लागेको उल्लेख गरे।
स्वदेशमा उत्पादन हुने बिजुली आन्तरिक रूपमा उपयोग गर्न पर्याप्त पूर्वाधार निर्माण नगर्दासम्म यस क्षेत्रमा भइरहेको ठूलो लगानी जोगाउन पनि निर्यात गर्नुपर्ने उनले बताए।
प्रधानमन्त्री दाहालले निजी क्षेत्रका लगानीकर्ता र सरकारको साझा प्रयासबाट जलविद्युत परियोजनाहरूको विकासको गतिलाई थप तीव्र पार्दा नतिजा हासिल भएको बताए।
सम्मेलनमा भारत, बंगलादेश, भूटान, श्रीलंकालगायत ३० भन्दा बढी देशका तीन सय बढी स्वदेशी तथा विदेशी प्रतिनिधि सहभागी रहेका छन्।
वैशाख ५, २०८० मंगलबार १३:०६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।