सन्दीपले अन्तिम ओभरमा लिए दुई विकेट, २३५ रनमै समेटियो मलेसिया

काठमाडौं : एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले नेपाललाई जितका लागि २३६ रनको लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३५ रन बनायो।
मलेसियालाई २३५ रनमा रोक्न बलिङमा नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले ३/३ विकेट लिए। सन्दीपले खेलको अन्तिम ओभरमा दुई विकेट झारेका थिए।
त्यसैगरी ललित राजवंशीले २ तथा गुल्शन झाले एक विकेट लिएका थिए।
सोमपालले ९ ओभरमा ४० रन खर्चेर ३ विकेट लिंदा सन्दीपले भने १० ओभरमा ४८ रन दिएर ३ विकेट झारेका थिए। त्यसैगरी ललितले १० ओभरमा ३४ रन मात्र दिएर २ विकेट लिए।
मलेसियाका लागि कप्तान अहमद फैजले ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगदान दिए।
उनले दोस्रो विकेटका लागि विरनदीप सिंहसँग मिलेर ११६ रनको शतकीय साझेदारी गरेका थिए।
युवा ब्याटर विरनदीप सिंहले भने ९४ बलमा ४६ रन जोडे। तर यसपछि अन्य ब्याटरले गतिलो स्कोर बनाउन सकेनन्।
एसीसी प्रिमियर कपको उपाधि विजेता टिम यसै वर्ष हुने एसिया कपमा छनोट हुनेछ। जसले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।
यस प्रतियोगितामा १० टिम सहभागी छन्। यी १० टिमलाई दुई समूहमा बाँडिएको छ। समूह चरणको खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्।
जसअनुसार समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन्। समूह बी मा भने यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन्।
वैशाख ५, २०८० मंगलबार १२:४३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।