धोनीको अगाडि कोहलीको केही लागेन, २१८ रन हाने पनि बेंगलोर पराजित

धोनीको अगाडि कोहलीको केही लागेन, २१८ रन हाने पनि बेंगलोर पराजित

एजेन्सी : आईपीएलको हाइ स्कोरिङ म्याचमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ रनले पराजित गरेको छ।

निकै रोमाञ्चक खेलमा दुवै टिमले विष्फोटक ब्याटिङ गर्दै २०० प्लसको रन बनाएका थिए।

बेंगलोरको घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२६ रनको विशाल स्कोर खडा गरेको थियो।

जसका लागि ओपनर डेभन कन्वेले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८३ रनको योगदान दिए। शिबम दुवेले भने २७ बलमा २ चौका र ५ छक्कासहित ५२ रन जोडेका थिए।

जवाफमा २२७ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले भने निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २१८ रनसम्म पुगे पनि हार टार्न सकेन।

ओपनर विराट कोहली पहिलो ओभरमै ६ रनमा आउट भए।

खराब सुरुवात गरेको बेंगलोरका लागि कप्तान फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेलले आक्रमक इनिङ खेलेका थिए।म्याक्सवेलले ३६ बलमा ३ चौका र ८ छक्कासहित ७६ रन जोडेका थिए। डु प्लेसिसले भने ३३ बलमा ५ चौका र ४ छक्कासहित ६२ रनको योगदान दिए।

यी दुईले तेस्रो विकेटका लागि १२६ रनको  शतकीय साझेदारी गर्दै टिमलाई जित नजिक पुराएका थिए।

तर १७ ओभरमा नै १९२ रन जोडिसकेको बेंगलोरका लागि यी दुई आउट भएपछि तल्लोक्रमका ब्याटरले गतिलो खेल देखाउँन सकेनन्।

लिगमा तेस्रो जितपछि चेन्नई ५ खेलमा ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। बेंगलोर भने ५ खेलमा तेस्रो हारसहित सातौं स्थानमा छ।

वैशाख ५, २०८० मंगलबार ०८:३१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।