‘हरि’को नाम लिएर कार्यकर्ता फकाउँदै गगन

‘हरि’को नाम लिएर कार्यकर्ता फकाउँदै गगन

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चितवनका कार्यकर्तालाई यसपटक बेइमानी नगर्न आग्रह गरेका छन्।

चितवनको कालिकानगरमा सोमबार आयोजित उपचुनाव लक्षित सभामा बोल्दै थापाले अघिल्लो चुनावमा जस्तो गल्ती नगर्न आग्रह गरेका हुन्।

यसअघि कांग्रेस कार्यकर्ताले पनि रवि लामिछानेलाई मतदान गरेको तर्फ संकेत गर्दै महामन्त्री थापाले पाँच महिनाको अवधिमा सच्चिने मौका आएको उल्लेख गरे।

उनले भने, ‘हिजो के गर्नुभयो, किन गर्नुभयो भन्ने सबै कुरालाई बिर्सिएर अहिले पार्टी चुनावमा होमिएको बेला तलमाथि गर्ने छुट कुनै पनि कांग्रेसीलाई छैन।’

उनले कसैले मतदान गर्न नसक्ने भए स्पष्ट भन्न आग्रह गर्दै बाहिर-बाहिर रुख भन्दै हिँडेर तलमाथि नगर्न चेतावनी दिए।

‘एक जना पनि कांग्रेसको साथीले दायाँबायाँ तलमाथि गर्नुभयो भने मैले सधैँ भन्दै आएको छु। म भगवानमा विश्वास गर्ने मान्छे हुँ। मनमा जसको हरि छ,अरूले नदेखे पनि हरिले देखेको हुन्छ।’ थापाले भने, ‘बाहिर-बाहिर रुख-रुख भन्ने भित्र गएर तलमाथि गरे हरिले हिसाबकिताब गर्छन् भन्ने ठान्नुपर्छ।’

उनले आफूहरू पाँच वर्ष खेर जान दिनुहुँदैन भन्ने पक्षमा रहेको भन्दै आफ्नै सरकारलाई पनि प्रश्न उठाइने बताए।

वैशाख १० गते उपचुनाव हुने चितवन २ मा नेपाली कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार छन्।

वैशाख ४, २०८० सोमबार १६:५८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।