ईटाली, दक्षिण कोरिया लगायतका देशमा पठाइदिने भन्दै ६६ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीको लागि ईटाली, दक्षिण कोरिया, न्युजिल्याण्ड तथा पोर्चुगल लगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ६६ लाख ३७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ टाउनप्लानिङस्थित ग्रिनलिफ इन्टरनेशनल कन्सलटेन्सी प्रालि र काठमाडौं ठमेलस्थित नेपाल स्नोफल माउण्टेन्स ट्रेक एण्ड एक्सपेडिसन प्रालिका संचालक कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–५ घर भएका २८ वर्षीय सुधन कुमार शाही र मेनेजिङ डाईरेक्टर सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका–१ घर भई हाल काठमाडौं टोखा नगरपालिका ग्रिनल्याण्ड बस्ने ३१ वर्षीय अनिल श्रेष्ठ रहेका छन्।
उनीहरूले २२ जना पीडितलाई सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने र मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाई हुने भन्दैप्रति व्यक्ति ५ लाख रूपैयाँ लिएका थिए।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
वैशाख ४, २०८० सोमबार १४:२२:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।