सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप आजदेखि

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप आजदेखि

काठमाडौं : सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप आज (सोमबार) देखि गोकर्ण गल्फ क्लबमा सुरु भएको छ।
 
७२ होलको प्रतियोगिता आजदेखि बिहिबारसम्म चल्नेछ। कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा ३२ प्रोफेसनल  र‌ ८ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
 
३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम दुई दिनको लागि स्थान बनाउनेछन्। 
 
विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ। दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्।  उत्कृष्ट २१ भित्र पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्। 
 
प्रतियोगितामा व्यावसायिक गल्फर भुवन नगरकोटी, जयराम श्रेष्ठ, धन थापा, निरज तामाङ, रामे मगर र रवि खड्कालाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ।

तर यी शीर्ष वरियताका गल्फरहरूले छैटौ प्रतियोगिताका विजेता सदभाव आचार्य र १३औं दक्षिण एसियाली खेलकुद‌ सागका दोहोरो स्वर्ण विजेता सुबाश तामाङको चुनौती पन्छाउनु पर्नेछ। अन्य एमरच्योर गल्फरहरू टासी छिरिङ, वाङचेन ढोन्डुप र विजय श्रेष्ठ आइनहाउसले पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। 
 
पीजीए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले यो वर्ष एमेच्योर र प्रोफेसनल गल्फरहरुबीच कडा प्रतिस्पर्धा भइरहेको र यसले नेपाली गल्फ विकासको लागि सहयोग पुग्ने बताएका छन्। उनले नेपाली गल्फको विकासमा निरन्तर सहयोग गरेकोमा प्रायोजक सूर्य नेपाल प्रालिलाई धन्यवाद दिएका छन्।

वैशाख ४, २०८० सोमबार १२:५५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।