तीन दलका शीर्ष नेताले गरे प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति

काठमाडौं : ओली निवास बालकोटमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको छ।
कांग्रेस नेता रमेश लेखकका अनुसार बैठकमा संवैधानिक परिषदको बैठक बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति बनेको हो।
बैठकमा एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस सभापति शेरबहादुर देउवाको सहभागिता रहेको थियो।
बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया छिटो अघि बढाउनुपर्ने प्रस्ताव राखेका थिए। सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेकोले न्यायपालिका लामो समय यो स्थितिमा रहनु हुँदैन भन्ने उनले धारणा राखेको लेखकले बताए।
साथै बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पनि अघि बढाउने विषयमा छलफल भएको बताइएको छ।
वैशाख ४, २०८० सोमबार १२:१९:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।