पहिलो दुई खेल हारेको मुम्बई लगातार दोस्रो जित

पहिलो दुई खेल हारेको मुम्बई लगातार दोस्रो जित

एजेन्सी : जारी रहेको इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा मुम्बई ईन्डियन्सले लगातार दोस्रो जित हात पारेको छ।

घरेलु मैदान वाङ्खडेमा भएको खेलमा मुम्बईले कोलकत्ता नाईट राईडर्सलाई ५ विकेटले पराजित गरेको हो।

कोलकत्ताले दिएको १ सय ८६ रनको लक्ष्य मुम्बईले १७ दशमलब ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।

मुम्बईका लागि ईशान किशनले ५८, कप्तानी सम्हालेका सूर्यकुमार यादवले ४३, तिलक बर्माले ३०, टिम डेबिडले २४ र इम्प्याक्ट प्लेयरका रूपमा मैदान छिरेका रोहित शर्माले २० रन बनाए।

कोलकत्ताका लागि सुयश शर्माले २ तथा शार्दुल ठाकुर,लकि फर्गुसन र वरुण चक्रवर्तीले समान १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो।

कोलकत्ताका लागि वेंकटेस अय्यरले ५१ बलमा ६ चौका र ९ छक्काको सहयोगमा १ सय ४ रनको शतकीय ईनिङ खेले।

कोलकत्ताको १५ वर्षदेखि रहेको शतकको खालीपन अय्यरले पूरा गरेका छन्। यसअघि आईपीएलको पहिलो संस्करणमा काेलकत्ताकै ब्रेन्डन म्याकुलमले शतक प्रहार गरेका थिए।

आन्द्रे रसेलले २१ रन बनाउँदा रिंकु सिंहले १८ रन जोडे।

मुम्बईका लागि हृतिक शोनिकले २ तथा दुअन यानसन,क्यामरुन ग्रिन,रिलि मिरिडेथ र पियुष चावलाले समान १/१ विकेट लिए।

चौथो खेलमा दोस्रो जित हात पारेको मुम्बई १० टिम सहभागी लिगमा ४ अंक सहित सातौं स्थानमा रहेको छ।

पाँचौ खेलमा तेस्रो हारको सामना गरेको कोलकत्ता ४ अंकका साथ पाँचौ स्थानमा रहेको छ।

वैशाख ३, २०८० आइतबार २०:०८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।