संसदमा ‘हाटा’ नचले हुन्थ्यो : सांसद ढकाल

संसदमा ‘हाटा’ नचले हुन्थ्यो : सांसद ढकाल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संसद बैठक सकिएपछि मात्रै हाजिरी गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले सांसदहरू हाजिर गरेर भाग्ने प्रवृत्ति रहेको भन्दै बैठक सकिएपछि हाजिरीको व्यवस्था गर्न माग गरे।

उनले भने– ‘संसदको एउटा बैठक सञ्चालन गर्न लाखौँ रूपैयाँ खर्च हुन्छ। यहाँ थिति बसाल्ने कुराहरू बेसमारी चल्छ। म आश्चर्यचकित भएको छु यो चार महिनामा। गत २९ गतेको बैठकमा विहान हाजिर गर्ने १६२ जना माननीय हुनुहुन्थ्यो, बेलुका जम्मा ६१ जना। गजब लाग्यो।’

उनले अगाडि थपे, ‘यसलाई चलन चल्तीको भाषामा भन्दो रहेछ हाजिर गरेर टाप कस्ने ‘हाटा’ भन्दो रहेछ। सदनमा यस्तो हाटा नचले हुन्थ्यो भन्ने मेरो आग्रह छ। थिति बसाल्ने ठाउँमा पनि यस्तो चलनले समाजमा कस्तो असर पर्छ होला ?’

सांसद ढकालले सदन सकिने बेलामा हाजिरी गर्ने व्यवस्था गराउन माग गर्नुका साथै आफू बैठक सकिएपछि मात्रै हाजिरी गर्ने कुरा संसदमा जानकारी समेत गराए।

वैशाख ३, २०८० आइतबार १४:४५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।