अर्जुन, रोहित र दीपेन्द्रको अर्धशतकमा अभ्यास खेलमा नेपालको शानदार जित

काठमाडौं : एसीसी प्रिमियर कप अघि भएको अभ्यास खेलमा नेपालले ओमानमाथि ५ विकेटको शानदार जित निकालेको छ।
ओमानले दिएको २ सय ४७ रनको लक्ष्य नेपालले ४४ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालको जितमा अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले।
ओपनर साउदले ६७ तथा कप्तान रोहित पौडेलले ५८ रन बनाए। कप्तान रोहित रिटायर्ट हर्ट भएका थिए। दीपेन्द्रसिंह ऐरी ५९ रनमा आउट भए।
कप्तान रोहितले ५८ रनमा रिटायर्ट हर्ट हुँदै कुशल मल्ललाई मौका दिएका थिए। तर, मल्लले ८ रन भन्दा जोड्न सकेनन्।
नेपालका लागि ओपनरका रूपमा मैदान प्रवेश गरेका देव खनाल १० रनमा रन आउट भए।
ओमानका लागि कप्तान जिशान मकसुदले २ विकेट लिए।
त्यसअघि टियु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो।
ओमानका लागि शोएब खानले १ सय १० रनको अविजित शतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन्।
ओपनर जतिन्दरसिंह ४२ रनमा आउट भए। अर्का ओपनर कश्याप प्रजापति ३६ बलमा २ चौकासहित १६ रनमा आउट भए।
मोहम्मद नदिमले २४ रन बनाए।
नेपालका लागि किशोर महतोले ३ तथा प्रतिश जी.सी र सूर्य तामाङले समान २/२ विकेट लिए।
एसीसी प्रिमियर कपमा नेपाल र ओमान एकै समूहमा छन्। एसीसी प्रिमियर कप आउने मंगलबारदेखि सुरू हुनेछ।
समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्।समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।
नेपालले मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
१० टोली सहभागी प्रतियोगिताको उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।
वैशाख २, २०८० शनिबार २१:४८:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।