नेपाली क्रिकेट टिम आज अभ्यास खेलमा ओमानसँग भिडन्त गर्दै

काठमाडौं : एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टिमले आज (शनिबार) ओमानसँग अभ्यास खेल खेल्दैछ।
एकदिवसीय अभ्यास खेल टियु क्रिकेट मैदानमा बिहान ९:३० बजेदेखि सुरु हुनेछ।
प्रशिक्षक मोन्टी देशाईले हाल बन्द प्रशक्षणमा रहेका २१ जना खेलाडीहरुलाई नै यो अभ्यास खेलमा समावेश गर्न पाउनेछन्।
यसपछि एसीसी प्रिमियर कपको लागि नेपालले अन्तिम १४ सदस्य टोलीको घोषणा गर्नेछ। पहिलो अभ्यास खेलमा ओमानले बहराइनलाई ५१ रनले हराएको थियो।
नेपालमा नै आगामी मंगलबारदेखि हुने एसीसी प्रिमियर कपको उपाधि विजेता टिम यसै वर्ष हुने एसिया कपमा छनोट हुनेछ जसले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।
प्रिमियर कपमा १० टिम सहभागी छन्। यी १० टिमलाई दुई समूहमा बाँडिएको छ। समूह चरणको खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्।
जसअनुसार समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन्। समूह बी मा भने यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन ।
खेल कीर्तिपुरस्थित टियू मैदान र मूलपानीमा हुनेछ। मंगलबार हुने नेपाल र मलेसियाको खेलबाट प्रतियोगिता सुरु हुँदैछ।
वैशाख २, २०८० शनिबार ०७:५५:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।