काठमाडौं महानगरमा पूर्ण रूपमा डिजिटल नक्सापास प्रणाली लागू, कार्यालय धाउनु नपर्ने शाहको दाबी

काठमाडौं : काठमाडौं महानगरपालिकाले पूर्ण रूपमा अनलाइन नक्सापास प्रणाली कार्यान्वयनमा ल्याएकाे छ।
सामाजिक सञ्जालमा एक भिडियो राख्दै महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले शुक्रबारदेखि अनलाइन नक्सापास प्रणाली सुरुवात भएको जानकारी दिएका हुन्।
परिमार्जित रूपमा ल्याइएको नयाँ अनलाइन नक्सापास प्रणालीका माध्यमबाट विगतमा दुईदेखि तीन महिना लाग्ने प्रक्रियालाई छोट्याएर बढीमा २५ दिनमै सेवा दिन सकिने शाहले बताए।
‘पहिले नक्सापासमा विद्युतीय प्रणाली भए पनि ट्रयाकिङ मात्र हुन्थ्यो,’ उनले भने, ‘तर, अड्डा-अड्डामा, डेस्क-डेस्कमा गई राख्नुपर्ने समस्या थियो। प्रक्रिया एकदमै लामो थियो। हाम्रो सर्भर पनि स्लो थियो।’
पछिल्लो समय सर्भर परिवर्तन गरेर अनलाइन नक्सापास प्रणालीलाई छिटो र स्वचालित बनाइएको उनले बताए।
‘तपाईंको नक्सा अब प्रिन्ट गरिराख्नु पर्दैन। नक्सा किताब धाइराख्नु पर्दैन। तपाईंले इन्जिनियरलाई नक्सा बनाउन दिनुभयो भने डिजिटल फर्ममा नै काठमाडौं महानगरपालिकाको सिस्टममा प्रवेश गर्छ,’ उनले थपे, ‘त्यही सिस्टमबाट आर्किटेक्ट, स्ट्रक्चरल इन्जिनियरकहाँ गएर, कर तिरेर २५ दिनभित्र डिजिटल रुपमा नक्सा तयार भइसक्छ।’
त्यस्तै, सँधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगई अनलाइनबाट नै सेवा लिन सकिने प्रमुख शाहले जानकारी दिए।
यो प्रणालीसँगै विचौलिया प्रवृत्ति, वारेसनामा पद्धति, आर्थिक अनियमितता लगायतको अन्त्य भई पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुने महानगर प्रमुख शाहकाे विश्वास छ।
वैशाख १, २०८० शुक्रबार १९:५५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।