गण्डकीमा वैशाख ८ गते विशेष अधिवेशन डाकिंदै, नयाँ सरकार बन्न सक्ने

पोखरा : गण्डकीमा वैशाख ८ गते प्रदेशसभाको विशेष अधिवेशन डाकिने भएको छ।
गत चैत १० गते माओवादी केन्द्रले मुख्यमन्त्रीमा खगराज अधिकारीलाइ दिएको समर्थन फिर्ता लिएपछि अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसैले संविधान बमोजिम विश्वासको मत लिन विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।
सरकारलाइ समर्थन गरेको सत्ता सहयात्री दल माओवादी सरकारबाट बाहिरिएकाले मुख्यमन्त्री अधिकारीले यही वैशाख १० गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने अवस्था छ।
माओवादी केन्द्रले खगराज नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिंदै चैत्र १० गतेका दिननै माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले राजीनामा बुझाएका थिए।
माओवादी सरकारबाट बाहिरिएर अल्पमतमा पर्दा समेत एमाले नेता अधिकारीले राजीनामा नगरेकाले प्रदेशमा नयाँ सरकार गठनमा अलमल भएपछि काँग्रेसको अगुवाइमा विश्वासको मत लिन विशेष अधिवेशनका लागि अनुरोध गर्न लागिएको हो।
मुख्यमन्त्री अधिकारी अल्पमतमा रहेकाले उनले विश्वासको मत लिने प्रक्रियामा नगइ राजीनामा दिने आकलन गरिएको छ। सरकारको दिन गन्ती सुरु भए सँगै यतिबेला मुख्यमन्त्री अधिकारी उद्घाटनका काममा व्यस्त देखिएका छन्। उनले एकसाताका अवधिमा १० वटा पुलको उद्घाटन गरिसकेका छन्।
गण्डकीको ६० सदस्यीय प्रदेशभामा एमालेका २२ सांसद मात्र भएकाले मुख्यमन्त्री अधिकारीले बहुमतका लागि चाहिने ३१ सांसद आफ्नो पक्षमा पार्न सक्ने अवस्था छैन। उनी माओवादीका ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र एमालेका २२ सांसदको समर्थनमा गत पुस २५ गते मुख्यमन्त्री बनेका थिए।
पछिल्लो समीकरणमा कांग्रेससँग २७ र माओवादीका ८ सांसद भएकाले अब, कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित छ। सबैभन्दा ठूलो दलको नाताले नेपाली कांग्रेसले संसदीय दलका नेता सुरेन्द्र पाण्डे नेतृत्वमा सरकार बनाउने अवस्था छ।
वैशाख १, २०८० शुक्रबार १२:०१:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।