नयाँ वर्षको शुभकामना दिंदै राष्ट्रपतिले भने : सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौं

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिंदै सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्ने बताएका छन्।
उनले व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए।
उनले भनेका छन्, ‘चरम दलगत र गुटगत राजनीतिभन्दा माथि रही विधिको ख्याल राखी यसको सीमा भित्रैबाट प्रकट हुने क्रियाशीलता, विचार र अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासले मात्र मुलुकमा अमनचैन राख्न राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव तथा नेपाली-नेपालीबीच अपनत्व र भ्रातृत्व बढाउन तथा मुलुकको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्न थप मद्दत पुर्याउन सक्नेछ।’
आर्थिक रूपमा देश सबल र सक्षम हुनुपर्दछ भन्ने मान्यता सबैको भएको उनले बताएका छन्। केही समय यता बाह्य एवं आन्तरिक कारणहरूले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतालाई यसले पारेको नकारात्मक प्रभावबाट जति सक्दो छिटो मुलुकले निकास दिनुपर्ने धारणा उनको छ।
शुभकामनामा उनले भनेका छन्, ‘सार्वभौमिक सत्ता सम्पन्न जनताका प्रतिनिधिहरूबाट निर्मित विधि र पद्धति बमोजिम संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था चल्ने चलाउने भन्ने नै संवैधानिक राष्ट्रिय प्रतिज्ञा र घोषणा भएकाले मुलुक सोही अनुरूप अघि बढ्नुपर्दछ भन्नेमा मेरो प्रतिवद्धता छ।’
वैशाख १, २०८० शुक्रबार ०९:१३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।