नयाँ वर्षलाई सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाऔं : प्रधानमन्त्री

नयाँ वर्षलाई सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाऔं : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षलाई सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रुपमा मनाउन सबैलाई अपिल गरेका छन्।

नयाँ वर्ष २०८० को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिंदै उनले यो वर्षलाई राष्ट्रिय उपलब्धिको वर्ष बनाउने प्रण गरे।

उनले यस पटक केवल क्यालेन्डर परिवर्तन मात्रै नभइ राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने संकल्प समेत गरेका छन्। 

उनले भने, ‘हरेक नयाँ वर्ष एउटा सुरुआत हो, विगतको समीक्षासहित नयाँ संकल्प गर्ने दिन हो, हामीले आत्मसमीक्षा गर्नैपर्छ। तर हामीलाई निराश हुने छुट छैन। राष्ट्र निर्माणको साझा संकल्पका लागि नयाँ वर्षभन्दा उपयुक्त समय अरू हुन सक्दैन।’

प्रचण्डले निर्देशनको तहलाई कार्यान्वयनमा लैजान परम्परागत अवरोधका बीच पनि सकारात्मक सुरवात भएको बताउँदै अर्थतन्त्रमा देखिएका संकट र चुनौती क्रमशः कम हुँदै गएको उल्लेख गरेका छन्।

‘अर्थतन्त्रमा देखिएका संकट र चुनौती क्रमशः कम हुँदै गएका छन्। वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको छ, श्रमिकको अधिकार सुरक्षित गर्न महत्त्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएका छन्, नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झट मुक्त बनाउने अभियान सुरु भएको छ,’ उनले भने।

यो पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि अझै धेरै मेहनत गर्नुपर्ने समेत उनले धारणा राखे।

उनले थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव रहेको उल्लेख गर्दै यस नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन अनुरोध गरेका छन्।

प्रचण्डले प्रधानमन्त्रीका रूपमा समस्त नेपाली जनसमुदायसँग नयाँ वर्षका हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वयन, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका​ लागि समर्पित हुने प्रतिवद्धता समेत जनाएका छन्।

वैशाख १, २०८० शुक्रबार ०७:२४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।