ठूला आयोजना अगाडि बढाउने लगानी बोर्डको निर्णय

काठमाडौं : स्वदेशी, विदेशी र ठूलो आकारका आयोजनाहरु नेपाल लगानी बोर्ड मार्फत् अगाडि बढाइने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालकाे अध्यक्षतामा बसेकाे लगानी बोर्डको ५३औं बैठकले यस्तो आयोजना अगाडि बढाउने निर्णय गरेको हो।
अर्थमन्त्री डा. प्रकाशशरण महतका अनुसार ऊर्जा क्षेत्रमा जलविद्युत् आयोजनालाई अघि बढाउने निर्णय भएको छ।
तल्लो अरुण, माथिल्लो मर्स्याङ्दी, दूधकोशी–२ लगायत जलविद्युत आयोजनालाई अगाडि बढाउने लगानी बोर्डकाे बैठकले निर्णय गरेको छ।
त्यसैगरी सिमेन्टमा लगानी भएका आयोजनामा उत्पादन तहमा पुगेका छन्, त्यससँग जोडिएको विषयमा पनि केही निर्णय भएको मन्त्री डा. महतले बताए।
‘मल उत्पादनका लागि वैदेशिक लगानीकर्ताले विस्तृत अध्ययन गर्न अनुमति पर्खिरहनुभएको छ,’ लगानी बोर्डका उपाध्यक्ष समेत रहेका अर्थमन्त्री डा. महतले भने, ‘दुईवटा वैदेशिक लगानीकर्तालाई अनुमति दिने प्रकृया अगाडि बढाउने निर्णय भएको छ।’
बोर्ड बैठकमा उठेका कार्यविधि, ऐनमा संशोधन गर्नुपर्ने विषयमा सरकारले आवश्यकताअनुसार निर्णय लिने मन्त्री डा. महतले बताए।
चैत ३०, २०७९ बिहीबार १९:१९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।