काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अन्तै सार्नुस् : बालेन साह
 
                    
                    
                    
                    काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबारलाई अर्को पालिकामा सार्न केन्द्र सरकारलाई चुनौती दिएका छन्।
उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहदरबार वा राजधानी जे सारे पनि काठमाडौं बासीलाई कुनै आपत्ति नहुने बताए।
उनले लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्।’
‘हामी काठमाडौं बासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्। हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ। राजनीति हैन,’ उनले थप लेखेका छन्।
केन्द्र सरकारसँग बारम्बार टक्कर लिइरहेका बालेनले यसअघि सिंहदरबार, राष्ट्रपति बस्ने शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर नउठाउने समेत घोषणा गरेका थिए।

चैत ३०, २०७९ बिहीबार १२:५७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                    