दोस्रो चरणमा पुग्यो महासंघको चुनाव, वरिष्ठ उपाध्यक्षमा अञ्जन र उमेशको भिडन्त, रामचन्द्र बाहिरिए

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ।
यस पदका लागि अब उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच पुनः भिडन्त हुँदा रामचन्द्र संघाइ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन्।
निर्वाचनको मत परिणाम अनुसार कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुन लागेको हो।
बुधबार भएको मतदानबाट सबैभन्दा धेरै मत पाएको आधारमा अञ्जन र उमेश दोस्रो चरणको निर्वाचनका लागि योग्य हुँदा रामचन्द्रको यात्रा सकिएको हो।
पहिलो चरणको मतदानमा अञ्जनले ३७.९९ प्रतिशत मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी उमेशलालले ३१.७१ प्रतिशत मत ल्याएका थिए। रामचन्द्रले भने ३०.४६ प्रतिशत मत मात्र भएकाले दोस्रो चरणका लागि स्थान बनाउन सकेनन्।
महासंघको विधान अनुसार कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा पहिलो र दोस्रो हुनेबीच पुनः दोस्रो चरणको मतदान हुने नियम छ। अब दोस्रो चरणको मतदान आजै हुने बताइएको छ।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने नियम छ। त्यसैले यस निर्वाचनमा वरिष्ठ उपाध्यक्षको पदलाई निकै महत्व दिइन्छ।
अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल अब भने स्वतः अध्यक्ष बन्दै छन्।
चैत ३०, २०७९ बिहीबार १२:१६:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।