१० दिनभित्र प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण, नभए कानुन व्यवसायीले आन्दोलन गर्ने

१० दिनभित्र प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण, नभए कानुन व्यवसायीले आन्दोलन गर्ने

काठमाडौं : नेपाल बार एशोसिएसन तथा सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश नियुक्तीका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएका छन्।

आज (बिहीबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै पुगेर उनीहरुले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया तत्काल थाल्न प्रचण्डको ध्यानाकर्षण गराएका हुन्।

यसअघि हिजो (बुधबार) पत्रकार सम्मेलन गरेर बार एशोसिएसनले १० दिनभित्र प्रधानन्यायाधीश नियुक्त नभए आन्दोलन गर्ने घोषणा गरेका थिए।

प्रचण्डसँगको छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न उनलाई आग्रह गरेका थिए।

जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषदका पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रधानमन्त्रीसँगको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरू उपस्थित रहेका थिए।

भेटमा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

चैत ३०, २०७९ बिहीबार १०:४६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।