श्रीमतीका बारेमा लेखिएका निराधार समाचार नहटाए कानूनी प्रक्रियामा जाने रविको चेतावनी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रीमती निकिता पौड्यालमाथिका निराधार समाचार र पोस्टहरू नहटाए कानूनी प्रक्रियामा जाने चेतावनी दिएका छन्।
रास्वपाका समानुपातिक सांसद् ढाकाकुमार श्रेष्ठको व्यवसायी दुर्गा प्रसाईँसँग गरिएको भनिएको अडियोमा उनले पटक-पटक कोर टिमको उल्लेख गर्दै मन्त्री बन्न २ करोड रूपैयाँ मागेका थिए।
उक्त कोर टिममा लामिछानेकी श्रीमती निकितासमेत रहेको दाबी विभिन्न सञ्चारमाध्यममा गरिएका थिए। लामिछानेले सोही समाचारहरूको जवाफ दिएका हुन्।
उनले भनेका छन्– एक आफैँमा योग्य, सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगतिबाहेक राजनीतिमा केही लिनुदिनु छैन, कायरहरु उसमाथि खनिएका छन्। बिनाआधार, बिनाप्रमाण कायरतापूर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं। निराधार राखिएका समाचार र पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जान्छौँ।’
रास्वपाले बुधबार अडियो विवादमा मुछिएका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई सांसदसहित पार्टीको साधारण सदस्यबाट समेत हटाएर विन्दबासिनी कंशाकारलाई सांसद् बनाउने भएको छ।
चैत २९, २०७९ बुधबार २२:५४:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।