उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच शिष्टाचार भेट, प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच शिष्टाचार भेट, प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण, नेपाल–भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षा लगायतका विषयमा छलफल भएको छ।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री दाहालको भारत भ्रमणको कार्यक्रम छिट्टै तय हुने र आफ्नो तथा वर्तमान सरकारको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप घनिष्ट हुने विश्वास व्यक्त गरे।

साथै सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रण जस्ता संवेदनशील विषयमा समेत खुला छलफल हुनुपर्ने धारणा उपप्रधानमन्त्री श्रेष्ठले राख्नुभयो। भर्खरै रुपन्देही भ्रमण गर्दा एउटा ‘बोर्डर आउटपोस्ट’ निरीक्षण गरेको र सो क्रममा आफूले दुई देशका सुरक्षा निकायबीच राम्रो समन्वय र सहकार्य रहेको देखेको उनले बताए।

प्रधानमन्त्री प्रचण्डको प्रस्तावित भारत भ्रमणको कार्यक्रम मिलाउन आफू क्रियाशील रहेको राजदूत श्रीवास्तवले बताए। साथै गृहमन्त्री जस्तो चुनौतीपूर्ण जिम्मेवारी सफलताका लागि बधाई दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदाको सहकार्यका लागि उपप्रधानमन्त्री श्रेष्ठलाई धन्यवाद व्यक्त गरे।

भेटवार्तामा सीमामा नियमित वारपार गर्ने नागरिकले अपराधी जस्तै व्यवहारको सामना गर्नु नपरोस् भनेर दुवै पक्ष संवेदनशील हुनुपर्ने राजदूत श्रीवास्तवले बताए। त्यसक्रममा नेपालगंज( रुपेडिया, भैरहवा–सुनौली तथा दोधारा–चाँदनीमा ‘इन्टेग्रेटेड चेकपोस्ट’ बनाउने विषयमा समेत छलफल भएको थियो।

गतवर्ष भारतको नयाँ दिल्लीमा सम्पन्न ‘ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट’को बैठकमा कतिपय सीमा नजिकका स्थानमा विकास निर्माणका सम्बन्धमा रहेको विवादलाई थप छलफल गरेर टुङ्ग्याउने सहमति भएको र त्यसका लागि भारतीय पक्ष तयार रहेको समेत राजदुत श्रीवास्तवले बताए।

भारतीय सहयोगमा बन्ने नयाँ पुलिस एकेडेमी उच्च गुणस्तरको हुने र निर्धारित समयमै सम्पन्न हुने बताउँदै राजदुत श्रीवास्तवले नेपाल प्रहरी, सशस्त्र प्रहरी जस्ता नेपाली सुरक्षाकर्मीको तालिम तथा क्षमता विकासको कार्यक्रमलाई भारतले सधैं प्राथमिकता दिएको बताए।

चैत २९, २०७९ बुधबार २१:५०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।