ढिलो गरी सुरु भयो उद्योग वाणिज्य महासंघको मतदान

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बिहान ८ बजेदेखि मतदान हुने बताइए पनि करिब १० बजेतिर मात्र मतदान सुरु भएको थियो।
प्राविधिक कारणले करिब दुई घण्टा ढिला मतदान सुरु भएको बताइएको छ। यस मतदानबाट एक जना वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन हुनेछन्।
वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल अब अध्यक्ष बन्ने छन्।
अबको वरिष्ठ उपाध्यक्षका लागि भने यसपटक उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र सांघाईबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ।
अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ प्यानलनै बनाएर प्रचारमा लागेका थिए।
महासंघमा जिल्ला नगर तर्फको मतभार ५० प्रतिशत, एशोसिएट तर्फको ३० प्रतिशत र वस्तुगत तर्फको २० प्रतिशत मतभार छ।
चैत २९, २०७९ बुधबार ११:३८:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।