शंकारहित छैन रविको आर्थिक छवि, ‘पैसा माग्ने’ कोर टिमबारे मौन बस्दै सांसदमाथि मात्र कारबाहीको तयारी

काठमाडौं : मन्त्री बन्न साढे दुई करोड पैसा मागेको घटनामा मुछिएका ढाकाकुमार श्रेष्ठबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ।
नेताहरू चुनावी प्रचारमा विभिन्न जिल्लामा छरिएकाले डिजिटल बैठकबाटै यस विषयमा निर्णय गर्न लागिएको हो।
केन्द्रीय समिति बैठकले तत्काल पार्टी सभापति रवि लामिछानेको कोर टिमबारे कुनै निर्णय नगरी केवल सांसद श्रेष्ठबारे मात्र निर्णय गर्ने तयारी गरेपछि श्रेष्ठले आफूमाथि मात्र कारबाही गरिए कोर टिमबारे आफैंले खुलासा गर्ने चेतावनी दिएका थिए।
पार्टी स्रोतका अनुसार केन्द्रीय अनुशासन समितिको प्रतिवेदन श्रेष्ठले पार्टीका लागि भन्दै मन्त्री बन्ने भएँ भनेर पैसा मागेको भन्दा पनि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेकोमा मात्र कारबाहीमा केन्द्रित भएको छ।
प्रसाईंले रविको कोर टिमको सदस्यको रूपमा रविसँग न्युज २४ टेलिभिजनदेखि ग्यालेक्सी हुँदै पार्टीमासमेत सँगै रहेका दीपक बोहोरा भएको दाबी गर्दै आएका छन्। तर यसबारे उनले प्रमाण भने सार्वजनिक गर्न सकेका छैनन्।
रवि गृहमन्त्री हुँदा बोहोरा मुख्य स्वकीय सचिव समेत भएका थिए।
समितिसँगको बयानमा श्रेष्ठले रास्वपामा आफ्नो योगदानमा जोड दिंदै अहिले षडयन्त्र भएकाले सार्वजनिक भएको संवाद समेत आफ्नो नभएको दाबी गरेको स्रोतले बतायो।
श्रेष्ठले समेत केही मिडियामा सो स्वर आफ्नो नभएको, पार्टीमा आफू स्वास्थ्यमन्त्री बन्ने बारे कुरै नभएकाले संवाद नक्कली भएको दाबी गरेका थिए।
संवाद सार्वजनिक भएपछि तनहुँको कार्यक्रममा ढाकासँगै आफ्नो कोर टिम भनिएका बारे समेत छानबिन गरेर कारबाही गर्ने दाबी उनले गरेका थिए।
तर बयानमा ढाकाले कोर टिम भनेको को हो भन्ने खुलाएका छैनन्। उनले पार्टी नेतृत्वलाई आफूमाथि कारबाही भए कोर टिम बारे सार्वजनिक गरिदिने चेतावनी दिएर जोगिने प्रयास गरेका छन्।
७२ घन्टाभित्र के भएको हो सार्वजनिक गर्ने प्रतिवद्धता गरिसकेको अनि अडियो प्रकरणले चितवनको समेत निर्वाचन प्रचार प्रभावित बनेपछि रवि ढाकालाई कारबाही गरेर क्षति कम गर्ने रणनीतिमा देखिन्छन्।
पछिल्लो समय उनका सम्बोधन आर्थिक लेनदेन केन्द्रित बनेका छन्। उनले आफूले त्याग गरेको रकमबारे हिसाब निकाल्नसक्ने क्यालकुलेटर समेत नबनेको दाबी गरेको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन्।
सफा देखिन्न रविको आर्थिक व्यवहार
रवि अमेरिकामा आर्थिक व्यवहार बिग्रिएपछि नेपाल आएको देखिन्छ। उनीविरुद्ध अमेरिकामै अर्थ सम्बन्धी मुद्दा चलेका थिए। त्यसमा उनी दोषी समेत ठहर भएर ६ हजार डलरसम्म जरिवानाको फैसला भएको मेरिल्यान्ड कोर्टको आधिकारिक रेकर्डमै देखिन्छ। एउटा मुद्दा अझै चलिरहेको छ।
टेलिभिजन कार्यक्रम बनाएकै आधारमा उकालिएको उनको आर्थिक हैसियतमाथि पनि प्रश्न उठ्दै आएको छ।
अमेरिकामा रहेकी श्रीमतीसँग छोडपत्र गर्ने सर्तमा घरको लोनदेखि दुई छोरीको खर्चको जिम्मेवारीसमेत आफूसँग रहेको उनैले सार्वजनिक गरेका थिए। उनकै कार्यक्रममा काम गर्ने शालिकराम पुडासैनीले आत्महत्या गर्नु अगाडि रेकर्ड गरेको भिडियोमा कार्यक्रममार्फत उनले रकम असुली गर्ने गरेको गम्भीर आरोप लगाएका थिए।
आत्महत्या दुरुत्साहनमा रवि पक्राउ परेर प्रहरी हिरासत समेत बसेका थिए। दुरुत्साहनबारे अनुसन्धान भयो तर एड्भर्टाइजिङ कम्पनीमार्फत उनले पैसा असुल्ने गरेको आरोपमा कुनै निकायले छानबिन गरेन।
यस्ता आरोपमा प्रेस काउन्सिल नेपालले छानबिन गर्न सक्छ। काउन्सिलले वास्ता गरेन। पछि उनको कार्यक्रमबारे परेको उजुरीबारे काउन्सिलले छानबिन सुरु गर्दा उनी अमेरिकी नागरिक रहेको खुलेको थियो।
उनी अमेरिकी नागरिक भए पनि श्रम स्वीकृति नलिई काम गरिरहेको पुष्टि भए पनि समर्थक र राजनीतिक सहयोगका कारण जोगिएका थिए। काउन्सिलका तत्कालीन अध्यक्ष किशोर श्रेष्ठले आफ्ना अन्तर्वार्ताहरुमा लामिछानेलाई एमाले अध्यक्ष केपी ओलीले कारबाहीबाट जोगाएको दाबी गरेका थिए।
चैत २९, २०७९ बुधबार ०८:३२:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।