आर्थिक रुपले हामी निकै ठूलो दबाबमा छौं : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकार हाल आर्थिक रुपले निकै ठूलो दबाबमा रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा बोल्दै प्रचण्डले सरकारले अहिले सम्पूर्ण तागत अर्थतन्त्रलाई गति दिनमा लगाएको उल्लेख गरे।
‘एकातर्फ अर्थतन्त्रलाई भूकम्पले धक्का दियो। त्यसपछि कोभिड-१९, विश्व आर्थिक मन्दी र रुस-युक्रेन युद्धसँगै राजनीतिक उतारचढावले पनि यसलाई ठूलो असर गर्यो,‘ उनले भने, ‘हामी आर्थिक रुपले निकै ठूलो स्ट्रेसमा छौं। यो मेरो तेस्रो कार्यकालको निकै ठूलो चुनौती र अवसर पनि हो।’
उनले विगतमा अर्थतन्त्र संकटमा पर्ने शंका रहेकोमा अहिले केही सुधार भएको बताए। हाल रेमिट्यान्स र विदेशी मुद्राको सञ्चिति उत्साहजनक अवस्थामा पुगेको उनको भनाइ छ।
उनले हाल सरकार बजेट तथा नीति निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको समेत उल्लेख गरेका छन्।
चैत २८, २०७९ मंगलबार १३:२६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।