एकीकृत समाजवादी दाङका सचिव आफ्नै भ्रातृ संगठनका अध्यक्षद्वारा कुटिएपछि मुद्दा दर्ता

एकीकृत समाजवादी दाङका सचिव आफ्नै भ्रातृ संगठनका अध्यक्षद्वारा कुटिएपछि मुद्दा दर्ता

दाङ : एकीकृत समाजवादी दाङका सचिव डिल्ली डाँगी आफ्नै भ्रातृ संगठन, युवा संघ एसका जिल्ला अध्यक्ष जविन रानाबाट कुटिएपछि प्रहरीले रानाविरुद्ध कुटपिटमा मुद्दा दर्ता गरेको छ।

डाँगीलाई रानाले गत शनिबार बेलुकी तुलसीपुर बजारमै कुटेका थिए। दाङ प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले रानालाई कुटपिटमा मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान भइरहेको बताए।

डाँगीको उजुरीका आधारमा रानालाई पक्राउ गरी मुद्दा चलाएको एसपी वलीले जानकारी दिए।

मापसे गरेर आएका रानाले आफूमाथि कुटपिट गरेको पीडित डाँगीको भनाइ छ। रानाको कुटाइबाट डाँगीको आँखामा चोट लागेको छ। 

रानाविरूद्धको उजुरी दर्ता नगर्न नेकपा एसका नेताले दबाब दिए पनि पीडितले उजुरी दर्ता गर्न जिप्रकामा धर्ना दिएपछि अन्तिममा मुद्दा दर्ता भएको हो। कुटिएका डाँगी भने रानालाई कानुनी कारबाही हुनुपर्ने अडानमा छन्।

गएको स्थानीय तहको चुनावदेखि डाँगी र रानाबीच अन्तरद्वन्द्व चल्दै आएको छ।

राना नेकपा एसका दाङ इन्चार्ज जोगबहादुर रानाका छोरा हुन्। रानाका बुवा जोगबहादुरले गठबन्धनको तर्फबाट उपमेयरको टिकट पाएर चुनाव हारेका थिए।

चैत २८, २०७९ मंगलबार १२:५९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।