पहिलो चरणमै विजयी हुने अञ्जनको रणनीति, वामपन्थी मत जोगाउने कसरतमा उमेश, समर्थन जुटाउने दौडधूपमा रामचन्द्र

काठमाडौं : उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्षमा तीन जनाको उम्मेदवारी पर्यो। चैत २८ र २९ गते (मंगलबार र बुधबार) हुने चुनावमा अधिकांशको ध्यान वरिष्ठ उपाध्यक्षमा अड्किएको छ।
त्यो किनभने विधान नबदलिएमा अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको अध्यक्षको कार्यकाल सकिएपछि अहिले चुनिने वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुनेछन्।
अहिले अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ प्यानलनै बनाएर प्रचारमा होमिएका छन्। तीनै उम्मेदवारहरु जिल्ला र नगर, एशोसिएट अनि वस्तुगतको मतदाता फकाउन सक्रिय छन्।
महासंघमा जिल्ला नगर तर्फको मतभार ५० प्रतिशत, एशोसिएट तर्फको ३० प्रतिशत र वस्तुगत तर्फको २० प्रतिशत मतभार छ। मतभार आफ्नो पक्षमा पार्न तीनै जना उम्मेदवार नतिजामा प्रभाव पार्न सक्ने व्यवसायी, पुराना अध्यक्ष र राजनीतिक लाइन मिलाउन व्यस्त छन्।
सामान्य विद्यालय व्यवस्थापन समितिमा त दलगत रुपमा उम्मेदवार बन्नु सामान्य बनिसकेको अवस्थामा महासंघको निर्वाचनमा दलको प्रभाव नपर्न सम्भव देखिंदैन। हिजोका निर्वाचनमा समेत दलगत रुपमै उम्मेदवार बन्दै आएको इतिहासले यो पटक थप चर्को दलीय प्रभाव हुने देखिन्छ।
उमेशलाल राजनीतिक रुपमै एमालेमा सक्रिय नेता भइहाले। उनी यस अगाडि पनि महासंघमा वामपन्थी प्यानलमै थिए। उम्मेदवारमध्येका अञ्जन अनि रामचन्द्रलाई भने लोकतान्त्रिक धारप्रति लोयल उम्मेदवारका रुपमा हेरिएको छ।
महासंघको विधान अनुसार जुन उम्मेदवारले कुल झरेको मतको ५० प्रतिशत कटाउन सक्छ उही निर्वाचित हुनेछन्। ५० प्रतिशत मत नकटेको अवस्थामा पहिलो र दोस्रो हुने उम्मेदवारबीच पुन: निर्वाचन हुनेछ।
यस्तो छ उम्मेदवारको व्यापारिक पृष्ठभूमि
अहिले वस्तुगत तर्फका उपाध्यक्ष रहेका अञ्जन लक्ष्मी ग्रुपका हुन्। उनले व्यवसाय गरेको ३० वर्ष भइसकेको छ। लक्ष्मी समूह उत्पादनमूलक, कृषिजन्य, निर्माण सामग्री उद्योग, अटोमोबाइल ट्रेडिङ लगायत अन्य व्यापारमा संलग्न छ। लक्ष्मी समूहका उत्पादन भएका वस्तुहरू ११ वटा मुलुकमा निर्यात भइरहेका छन्।
उमेशलाल कम्युनिष्ट नेता पुष्पलालका छोरा हुन्। उनको सार्वजनिक ब्राण्ड नै कम्युनिष्ट हो। तीन वरिष्ठ उपाध्यक्षमध्ये एमाले खुलेमा उनकै पक्षमा खुल्ने प्रष्ट देखिन्छ।
त्यस्तै उमेशलाल श्रेष्ठ औषधी व्यवसायी हुन्। वि.सं २०४१ बाटै उद्योगमा लगानी रहेको उनी दाबी गर्छन्। अर्का उम्मेदवार रामचन्द्र संघाई बिग हाउस त्रिवेणी समुहका प्रमुख हुन्। उनी उत्पादनमूलक, सेवामूलक र कृषिमूलक उद्योगमा आबद्ध छन्। उनी अहिले महासंघको एशोसिएट तर्फको उपाध्यक्ष हुन्।
पूर्व अध्यक्षको समर्थन कसलाई?
महासंघको निर्वाचनमा राजनीतिक समर्थनको अर्थ रहन्छ नै। त्यसमा महासंघका पूर्व अध्यक्षहरुको पनि उत्तिकै पकड रहेको देखिन्छ। केही पूर्व अध्यक्षहरु कमजोर बन्दै गएका छन् भने केही थप बलिया देखिन्छन् चुनावी अंकगणितमा।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाललाई चण्डीराज ढकाल र विनोदबहादुर श्रेष्ठको साथ देखिन्छ। यी दुवै उमेशलालको उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी भएका थिए।
कुनै समय चुनावी अंकगणितमा माहिर मानिने चण्डी पछिल्लो समय महासंघमा कमजोर भइसकेका छन्। चुनावी रणनीति अर्थ केन्द्रित हुँदा महासंघको निर्वाचनमा उनको शक्ति घट्दै गएको देखिन्छ। कांग्रेस पृष्ठभूमिका उनी रामचन्द्रप्रति समेत सकारात्मक देखिन्छन्।
अञ्जन सार्वजनिक रुपमा राजनीतिक गतिविधिमा सक्रिय देखिने व्यवसायी हैनन्। तर उनी लोकतान्त्रिक धारका व्यवसायीको रुपमा परिचित छन्। उनलाई कांग्रेसभित्रका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको साथ रहेको बताइन्छ।
पूर्व अध्यक्ष महेशलाल प्रधान, आनन्दराज मुल्मी र कुशकुमार जोशी अञ्जनको समर्थनमा देखिएका छन्। नखुलेका अन्य पूर्व अध्यक्षहरु खुल्नै परेको अवस्थामा अञ्जन प्रति लोयल हुनसक्छन्।
रामचन्द्रको पक्षमा खुलेर नदेखिए पनि पशुपति मुरारका, शेखर गोल्छाको पहिलो चरणमा उनीप्रति सदीक्षा देखिन्छ। पहिलो चरणमा नतिजा नआएमा उनीहरु अञ्जनको पक्षमा खुल्न सक्छन्।
वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल आन्तरिक बैठकहरुमा सक्रिय छन्। तर सार्वजनिक रुपमा कुनै उम्मेदवारको पक्षमा खुलेका छैनन्।
पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नल्याउने उनको आकलन देखिन्छ। त्यसैले जो-जो दोस्रो चरणमा जान्छन् अनि मात्र खुल्ने उनको रणनीति देखिन्छ।
पूर्व अध्यक्ष भवानी राणा पनि तीन उम्मेदवारमध्ये कसैको समर्थनमा खुलिसकेकी छैनन्।
जिल्ला नगरको भोटको प्रभाव
एशोसिएटको मतभार ३० प्रतिशत रहेको छ। जिल्ला नगरमा ५० प्रतिशत र २० प्रतिशत वस्तुगतमा मतभार रहेको छ। महासंघको निर्वाचनमा सधैं जिल्ला र नगरको भोटको प्रभाव हाबी हुने गरेको छ। यो पटक पनि त्यो बदलिने छैन।
जिल्ला अनि नगरका महासंघका प्रतिनिधि अधिकांश राजनीतिक रुपमै आएका हुन्छन्। जिल्ला तहमा व्यवसायमा पनि लाग्ने अनि राजनीतिमा पनि सक्रिय रहेकाहरु नै मतदाता भएर आउने महासंघको हिजोका निर्वाचनले नै पुष्टि गरिसकेको छ।
उता जनार्दन शर्मा अर्थमन्त्री भएको बेला नीतिगत चलखेल गरेर फाइदा लिएको देखेर रामचन्द्र उम्मेदवारी बनेको कांग्रेस वृत्तमा चर्चा छ। उनलाई पार्टी सभापति शेरबहादुर देउवा समूहको समर्थन रहेको दाबी आइरहेका छन्।
महासंघसँगै जिल्लामा पार्टीगत राजनीति पनि गर्ने अनि मौका मिले टिकट लिएर निर्वाचन पनि लड्नेहरुको बाहुल्यता जिल्ला र नगरमा देखिन्छ। त्यसैले कुन उम्मेदवारलाई कुन दलले समर्थन गर्छ त्यहाँको मत सोही आधारमा प्रभावित हुने देखिन्छ।
जिल्ला र नगरबाट चुनिएका मध्ये ७७ जना कांग्रेस र तीन जना माओवादी केन्द्र निकट रहेको आन्तरिक आकलन छ। २० वामपन्थी मत मानिन्छ। अन्य ५० प्रतिशत मत भने उम्मेदवारको पृष्ठभूमि र सम्पर्कले समेत प्रभाव पार्ने गरेको देखिन्छ।
कुन दलको समर्थन कसलाई?
सामान्य विद्यालय व्यवस्थापन समितिमा त दलगत रुपमा उम्मेदवार बन्नु सामान्य बनिसकेको अवस्थामा महासंघको निर्वाचनमा दलको प्रभाव नपर्न सम्भव देखिंदैन। हिजोका निर्वाचनमा समेत दलगत रुपमै उम्मेदवार बन्दै आएको इतिहासले यो पटक थप चर्को दलीय प्रभाव हुने देखिन्छ।
उमेशलाल कम्युनिष्ट नेता पुष्पलालका छोरा हुन्। उनको सार्वजनिक ब्राण्ड नै कम्युनिष्ट हो। नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक उम्मेदवार बनेर पनि पराजित भएका थिए। उनी यस अगाडि अञ्जनसँगै वस्तुगत उपाध्यक्षमा पराजित भएका थिए। तीन वरिष्ठ उपाध्यक्षमध्ये एमाले खुलेमा उनकै पक्षमा खुल्ने प्रष्ट देखिन्छ।
अञ्जन सार्वजनिक रुपमा राजनीतिक गतिविधिमा सक्रिय देखिने व्यवसायी हैनन्। तर उनी लोकतान्त्रिक धारका व्यवसायीको रुपमा परिचित छन्। उनलाई कांग्रेसभित्रका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको साथ रहेको बताइन्छ।
उता जनार्दन शर्मा अर्थमन्त्री भएको बेला नीतिगत चलखेल गरेर फाइदा लिएको देखेर रामचन्द्र उम्मेदवारी बनेको कांग्रेस वृत्तमा चर्चा छ। उनलाई पार्टी सभापति शेरबहादुर देउवा समूहको समर्थन रहेको दाबी आइरहेका छन्।
अहिले सरकारमा १० दल सहभागी छन्। त्यसमध्ये महासंघमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको प्रभाव देखिन्छ। निर्वाचनमा उनीहरुले आ-आफ्नै ढंगले उम्मेदवार अगाडि बढाउँछन् या त्यहाँ पनि सहकार्य गर्छन् खुलिसकेको छैन।
कसको एजेन्ड कस्तो?
उपाध्यक्ष पदका उम्मेदवार अञ्जनले महासंघको प्रभावकारीता बढाउने, निजी क्षेत्रलाई हेर्ने, बुझ्ने र सुन्ने दृष्टिकोणमा एकरूपता कायम गर्ने, जिल्ला, वस्तुगत, एशोसिएट, प्रदेश उद्योग वाणिज्य संघको क्षमता वृद्धि गर्ने, विधान संशोधन गरि प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने गरि बनाउने एजेण्डा अगाडि बढाएका छन्।
उनले समय सापेक्ष सबै संघ संस्थाहरुलाई संगठनात्मक रुपमा मजबुत बनाउने, वस्तुगत संघ, जिल्ला उद्योग वाणिज्य संघको संगठनलाई बलियो बनाउने र ७५३ स्थानीय तहमा गठन भएका उद्योग वाणिज्य संघका इकाइहरुलाई व्यवस्थापन बनाउने एजेण्डा बनाएका छन्।
उनले आफ्नो सम्बोधनहरुमा बैंकको ब्याजदर, साना लगानीकर्ताको लगानी संरक्षण लगायतका विषयमा समेत जोड दिने गरेका छन्।
अर्का उम्मेदवार उमेशलालले बैंकको ब्याजदर घटाउन दबाब दिने, कृषि क्षेत्रमा ध्यान दिइने र तेस्रो औद्योगिक नीतिहरूमा कामको लागि पहल गर्ने एजेण्डा बनाएका छन्।
रामचन्द्रले सरकारसँग समन्वयमा ग्याप हुन नदिने, रोजगारी बढाउनुपर्ने, उद्योग करिडोरमा सरकार गम्भीर नभएकाले उद्योग करिडोरमा २४ सैं घण्टा विद्युत आपूर्ति गर्न सरकारसँग निरन्तर संवादमा रहने लगायतका एजेण्डा अघि सारेका छन्।
चैत २८, २०७९ मंगलबार ०९:१९:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।