बजारमा पैसा अभाव भयो भन्दै मन्त्रिपरिषदबाट जग्गाको कित्ताकाट खुलाउने तयारी, प्रधानमन्त्री भन्छन्' यसले तरलता बढायो

बजारमा पैसा अभाव भयो भन्दै मन्त्रिपरिषदबाट जग्गाको कित्ताकाट खुलाउने तयारी, प्रधानमन्त्री भन्छन्' यसले तरलता बढायो

काठमाडौँ : घर-जग्गामा पैसा फसेको भन्दै सरकारले पुरानै भू-उपयोग नीति अनुसार जग्गाको कित्ताकाट खुलाउने तयारी गरेको छ। नयाँ भू उपयोग नीति अनुसार जग्गाको वर्गीकरणपछि मात्रै कित्ताकाट हुनसक्ने उल्लेख छ। यसले घर-जग्गा कारोबारमा प्रभाव परेको भन्दै सरकारले पुरानै पद्धति अनुसार कित्ताकाट खुलाउने तयारी गरेको हो।

सरकारले ल्याएको भू-उपयोग नियमावली अनुसार स्थानीय तहले कृषि र गैर कृषि योग्य जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न सकिन्छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै घरजग्गामा धेरै पैसा फसेकाले अब नयाँ भू-उपयोग नीति अनुसार जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खुला गर्ने तयारी भइरहेको सार्वजनिक गरेका हुन्।

सोमबार पोखराबाट आएका उद्योगी-व्यवसायीसँग सिंहदरबारमा भेट गर्दै उनले जग्गामा पैसा फसेकाले बजारमा तरलता अभाव भएको दाबी गर्दै पुरानै स्थितिमा कित्ताकाट खुला गर्न लागेको जानकारी दिए।

उनले कित्ताकाट रोकिँदा बेचबिखन रोकिएको र पुँजीको अभाव हुनुको एक कारण जग्गाको कारोबार नहुनु पनि देखिएको भन्दै कित्ताकाट खुलाउन लागेको बताएका थिए।

'अहिलेलाई जग्गाको वर्गीकरणवाला कुरोलाई थाती राखेर भए पनि पुरानै स्थितिमा लैजाने र कित्ताकाट र जग्गा बेचबिखनलाई मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति दिएर अहिलेको सङ्कट व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौँ,; भेटमा उनले भने।

उनले व्यवसायीहरूसँग ब्याजदरलाई एकल अङ्कमा झार्ने आफ्नो प्रयास भइरहेको र अर्थतन्त्र पहिले भन्दा सुधारतर्फ गएको दाबी गरेका थिए।

चैत २७, २०७९ सोमबार १७:४२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।