नेपालगञ्ज विमानस्थलमा गम्भीर सुरक्षा चुक, प्रहरी प्रवक्ता भन्छन्- ‘भीआईपीका मान्छे रोक्न खोज्दा मान्दैनन्’

काठमाडौं : नेपालगन्ज विमानस्थलमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वागत गर्ने क्रममा हवाई सुरक्षाको गम्भीर उल्लंघन भयो।
एमाले अध्यक्ष ओली पनि सवार बीएचए ४५१ जहाज सोमबार बिहान ९ः३० बजे नेपालगञ्ज विमानस्थलमा अवतरण गर्यो।
अवतरण गर्ने क्रममा कार्यकर्ताको ठूलो भिड बुद्ध एयरको ढोकैमा पुग्यो। नेपालगन्ज विमानस्थलका प्रमुख सुरेश खनालसँग बुझ्दा नहुनुपर्ने घटना भएको भन्दै सुरक्षाको जिम्मा नेपाल प्रहरीले लिएको भन्दै पन्छिए।
उनले भने, ‘यो नहुनु पर्ने थियो, यसलाई व्यवस्थित गर्ने जिम्मा नेपाल प्रहरीको हो।’
यस विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीमगरसँग बुझ्दा भीआईपी कक्ष र पार्किङबीच छोटो दूरी भएकाले समस्या भएको बताए।
‘विमानस्थलमा नयाँ टर्मिनल भवन बन्दैछ, भीआईपी कक्ष र पार्किङ जम्मा २० मिटरको दूरीमा छ, त्यसकारण पनि समस्या भएको हो,’ डीएसपी घर्तीमगरले उकेरासँग भने, ‘अर्को भनेको भीआईपीका मान्छे रोकतोक गर्दा त्यस्तै त हो नि ! मान्दैनन्।’
यद्यपि यस विषयमा आफूले थप बुझेर भएका गल्ती सच्याउँदै अघि बढ्ने उनले बताए।
यसलाई एमाले कार्यकर्ताले ओलीको क्रेजको संज्ञा दिइरहेका छन्। उनीहरूले सामाजिक सञ्जालमा ओलीको क्रेजबारे गर्वसाथ स्टेटस र फोटा पोस्ट गरिरहँदा अर्काथरी भने यसलाई कानूनमा उल्लंघन भएको बताइरहेका छन्।
विमानस्थलजस्तो संवेदनशील ठाउँमा यसरी असम्बन्धित व्यक्तिलाई निस्फिक्री प्रवेश दिनुले प्रहरी आफ्नो काममा कतिसम्म लापरवाह छ भन्ने पनि देखाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले भने आफूले घटनाबारे मिडियाबाटै थाहा पाएको बताउँदै त्यसबारेमा बुझेर कार्यान्वयन गर्न लगाउने बताए।
‘निश्चित पास भएका व्यक्ति त जान पाउँछन्,’ उनले उकेरासँग भने, ‘तर, अरुलाई त्यसरी जान पाइँदैन, के भएको रहेछ बुझेर त्रुटी भएको रहेछ भने कार्यान्वयन गर्न लगाउँछु।’
विमानस्थलभित्र सर्वसाधारण र यात्रुलाई समेत विना बोर्डिङ पास जहाजको नजिकै जान दिइँदैन।
चैत २७, २०७९ सोमबार १२:२५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।