रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको नामबाट मन्त्री बन्न दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो बाहिरियो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वास्थ्यमन्त्री बन्न भन्दै पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड सहयोग मागेको दाबी गरिएको अडियो सार्वजनिक भएको छ।
सार्वजनिक भएको अडियोमा प्रसाईंलाई परिचय दिने व्यक्तिले आफ्नो नाम ढाकाकुमार श्रेष्ठ र घर पोखरा भएको बताएका छन्।
रास्वपाको समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको परिचय र ठेगाना यही हो। उनी यस अगाडि सहकारीको रकम हिनामिनाको विवादमा परेका थिए।
कुपरबोट टीभीले सार्वजनिक गरेको अडियोमा पार्टी सभापति रवि लामिछाने निकट दुई/तीन जनाले स्वास्थ्यमन्त्री बन्ने भए दुई-साढे दुई करोड मागेको बताइएको छ।
अडियोमा भएको कुराकानी अनुसार यो माघ १ गते भएको देखिन्छ। शिक्षा रास्वपाले नपाउने र स्वास्थ्य पाउने भएको तर त्यसका लागि पार्टीलाई सहयोग गर्नुपर्ने प्रस्ताव आएको प्रसाईंसँगको संवाद सुनिन्छ।
यसबारे पार्टी सभापति लामिछाने अनि पार्टी महामन्त्री मुकुल ढकाललाई जानकारी नभएको, पहिल्यैदेखि पार्टीलाई सहयोग गर्दै आएको टिमकाले पार्टी कमजोर छ, सहयोग चाहिन्छ भनेर मागेको दाबी गरिएको छ।
संवादमा पैसा कसले मागेको हो भन्ने नाम खुलेको छैन। पार्टीको कोर टिम मात्र भनिएको छ। संवादकर्ताले स्वास्थ्य मन्त्रालय पक्का भएको, शिक्षा नपाउने अवस्था आएको दाबी गरेका छन्।
प्रारम्भमा रास्वपाले स्वास्थ्यमा जोड दिएको थियो। रवि उप तथा गृहमन्त्रीको रूपमा पहिला नै सरकारमा सहभागी भए। पछि श्रम मन्त्रीको रूपमा डिपी अर्याल, शिक्षामन्त्रीमा शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्रीको रूपमा तोसिमा कार्की सरकारमा सहभागी भएका थिए।
संवादमा प्रसाईंले भन्नासाथ त्यत्रो पैसा निकाल्न कसैले नसक्ने भन्दै आफू दुई करोड दिन तयार रहेको र सोही अनुसार कुरा अगाडि बढाउन आश्वासन दिएका छन्।
अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई निलम्बन गरेर अनुसन्धान गर्ने पार्टी महामन्त्री ढकालले इकागजलाई बताएका छन्।
चैत २६, २०७९ आइतबार १४:०८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।