उपनिर्वानमा चितवन-२ का २९ मतदान स्थल सुरक्षाका दृष्टिले अति संवेदनशिल

उपनिर्वानमा चितवन-२ का २९ मतदान स्थल सुरक्षाका दृष्टिले अति संवेदनशिल

काठमाडौं : सुरक्षाका दृष्टिकोणले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का २९ स्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ।

४३ निर्वाचन स्थल मध्ये दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशिल स्थलको सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद अवैद नागरिकताका कारण गुमेपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।

यसपटक उपनिर्वाचनमा लामिछानेसहित सत्ता गठवन्धनका तर्फबाट नेपाली कांग्रेस जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने लगायत २२ जनाको उम्मेदवारी परेको छ। 

उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा  एक लाख २४ हजार ६९५ जना मतदाता छन्। उनीहरुले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन्।

उपनिर्वाचनमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्वका साथ लिइएको उनको भनाइ छ। राजनीतिक दल, नागरिक समाज तथा जनताको समेत ध्यान उपनिर्वाचन हुने क्षेत्रमा पर्ने भएकाले सबै स्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारीमा प्रशासन रहेको उनले बताए।

उनले अहिलेको समयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालनका लागि सुरक्षा योजना बनाइ गृहकार्य अघि बढाइएको समेत बताए। निर्वाचनमा नेपाली सेना परिचालनका लागि भने सरकारले निर्णय गर्ने उनको भनाइ छ।

चैत २६, २०७९ आइतबार ११:५७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।