घरेलु मैदानमै भिल्लारियलसँग हार्यो रियल म्याड्रिड, लिग उपाधि सम्भावना संकटमा

एजेन्सी : रियल म्याड्रिडको यो सिजन स्पानिस लिग उपाधि जित्ने सम्भावना संकटमा परेको छ।
लिगको गए राति भएको खेलमा रियल घरेलु मैदानमै भिल्लारियलसँग ३-२ ले पराजित भयो। यो हारसँगै लिग लिडर बार्सिलोनाभन्दा १२ अंकले पछाडि रहेको रियलको लिग उपाधिको आशा धरापमा परेको छ।
खेलमा दुई पटक अग्रता लिएपनि रियलले खेल जित्न सकेन। १६ औं मिनेटमा टोरेसको आत्मघाती गोलमार्फत रियलले खेलमा अग्रता लिएकोमा ३९ औं मिनेटमा चुकुविजीले बराबरी गोल फर्काएका थिए।
यसपछि ४८ औं मिनेटमा भिनिसियसको गोलमार्फत रियलले खेलमा पुनः २-१ को अग्रता कायम गर्यो। तर ७० औं मिनेटमा मोरालेस र ८० औं मिनेटमा चुकुविजीले एक एक गोल गर्दै रियललाई ३-२ को हार चखाए।
यो हारपछि लिगको दोस्रो स्थानमा रहेको रियलको २८ खेलमा ५९ अंक छ। एक खेल कम खेलेको लिडर बार्सिलोनाको ७१ अंक छ। लिगमा अब १० खेल खेल्न बाँकी छ।
चैत २६, २०७९ आइतबार ०७:४४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।