टिआरसीका लागि बीचको बाटो खोजौं भन्ने छ : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)लाई फास्ट ट्रयाकबाट लैजान खोजेको बताएका छन्।
सभामुख देवराज घिमिरेसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सत्तारुढ दलको चाहना टिआरसी विधेयकलाई फास्ट ट्रयाकबाट लैजाने रहेको बताए। तर प्रतिपक्षले समितिमा लैजानुपर्ने अडान राखेको उनको भनाइ छ।
‘हामी सरकारमा हुनेहरूको कुरा चाहिँ फास्ट ट्र्याकबाटै गरौं भन्ने छ। प्रतिपक्षीको समितिमा लगेर गरौं भन्ने छ। त्यसमा बीचको बाटो खोजौं भन्ने छ,’ उनले भने।
उनले टिआरसीसँगै संवैधानिक परिषद्सम्बन्धी विधेयक र सम्पत्ति सुद्धीकरणसम्बन्धी विधेयकलाई पनि छिटो टुंग्याउन जरुरी रहेको बताए।
त्यसका लागि आफूहरूबीच सैद्धान्तिक सहमति भए पनि टेक्निकल र लिगल पाटो रहेको बताए। उनले चैत २८ गते संविधानविद् र कानुनविद्सँग बसेर समस्या समाधान गर्ने सहमति भएको बताए।
यसअघि एमाले अध्यक्ष ओलीले टिआरसीबारे छलफल भएको र कुनै न कुनै रूपमा समितिमा लैजानैपर्ने बताएका थिए।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी थिए। उनले आफूहरूबीच राम्रो संवाद् भएको बताए।
चैत २५, २०७९ शनिबार १८:४५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।