स्वीटकर्नको कन्टेनरमा कुखुराको मासु तस्करी, गृहमन्त्रीको वचन- ‘कुरा सुन्ने मात्र गर्दिनँ, रोकेरै देखाउँछु’

काठमाडौं : विभिन्न सामानको आवरणमा कन्टेनरमा लुकाएर भारतीय मासुजन्य उत्पादनको तस्करी बढेपछि उद्योगीहरूले गृहमन्त्री भेटेर तस्करीको फेहरिस्त सुनाए।
नेपाल दाना उद्योग संघ र नेपाल ह्याचरी उद्योग संघले गृहमन्त्री भेटेर स्वीटकर्न भन्दै भित्र कुखुराको मासु लुकाएर नेपाल भित्र्याउँदा व्यवसायी मारमा परेको बताए।
यसले राजश्व घटेको र अस्वस्थकर मासुले जनस्वास्थ्यमा जोखिम बढाएकोसमेत खुलाए।
भारत र नेपालको सीमामा रहेका कुखुरा फारममा रातारात भारतीय कुखुरा ल्याएर नेपाली उत्पादन बनाउने काम भइरहेको र यसमा सुरक्षा संगठनका सदस्यले नै सघाउने गरेको उनीहरूको दाबी छ।
भेटमा दाना संघका अध्यक्ष रविन पुरी र ह्याचरीका अध्यक्ष ऋषिराम पौडेलसहितको टोलीले नेपालको कृषि क्षेत्रमध्ये पोल्ट्री व्यवसाय आत्मनिर्भर रहे पनि भारतबाट बढेको तस्करीले करिब १ खर्ब ६० अर्ब रूपैयाँ लगानी जोखिममा परेको बताए।
५ लाख व्यक्तिलाई रोजगारी दिएको र आयात प्रतिस्थापन गर्दै सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको मासु र अण्डा उपलब्ध गराउँदै आएको व्यवसाय अवैध तस्करीले संकटमा परेको दुवै संघको प्रतिनिधिले गृहमन्त्रीलाई जानकारी गराए।
संयुक्त ज्ञापन पत्रमा भनिएको छ- ‘नेपालको पोल्ट्री क्षेत्रमा सबैभन्दा प्रमुख समस्या देशको खुला सीमा हो। भारतीय सीमा नाकाहरूबाट अवैध रूपमा पोल्ट्रीजन्य वस्तुहरू चल्ला, कुखुरा, तयारी मासु र अण्डा दिनहुँ भित्रँदा व्यवसायमा ठूलो जोखिम छ।’
भारतमा समय-समयमा देखा पर्ने बर्ड फ्लू संक्रमणले रोग भित्रने सन्त्रास र अवैध आयात हुँदा देशको राजश्व चुहावट समेत हुने गरेको उल्लेख छ।
भारतबाट प्रज्ञापन पत्र लिएका मालबाहक कन्टेनरहरूमा स्वीट कर्न, फ्रेन्च फ्राई मात्र उल्लेख भई भन्सार कार्यालयबाट पास भएमा मालबाहक कन्टेनरमा कुखुराको मासु, माछा भेटिने गरेको भन्दै उनीहरूले नाकामा कडाई गर्न आग्रह गरेका हुन्।
नेपालगन्ज, कृष्णनगर, भैरहवा, धनगढी, तौलिहवा, त्रिवेणी, परासी, विरगन्ज, बारा, पर्सा, रौतहट, सर्लाही, मलगवा, जलेश्वर, विराटनगर नाकाहरूबाट अवैध रूपमा कुखुरा, तयारी मासु, चल्ला, अण्डा आयात हुने गरेको उनीहरूको दाबी छ।
विशेष गरी भारतीय सीमा नाकाहरूका जिल्लामा सञ्चालित कोल्ड स्टोरहरूले भारतबाट अवैध रूपमा कुखुरा आयात गरी ड्रेसिङ्ग गरेर नेपालका प्रमुख शहरहरूमा मासु निर्यात गरिरहेको, भारतीय सीमा नाकाका भन्सार कार्यालयमा सतर्कतापूर्वक चेक जाँच नगर्ने गरेको उनीहरूको गुनासो छ।
किन हुन्छ तस्करी ?
दाना उद्योग संघका अध्यक्ष पुरी भारतमा कुखुरा उत्पादनमा सरकारले सब्स्सिडी दिएको, दाना त्यही उत्पादन हुने अनि एकै पटक ठूलो संख्यामा उत्पादन हुँदा नेपालको उत्पादन भन्दा मूल्य केही कम हुने गरेकाे बताउँछन्।
‘कर तिर्नु नपर्ने अनि उत्पादन लागत पनि सस्तो पर्दा नेपालमा उत्पादन हुने कुखुरा भन्दा उता केही सस्तो पर्छ,’ पुरीले उकेरासँग भने ‘तर स्वास्थ्यको दृष्टिकोणले यो उच्च जोखिमको काम हो। बर्डफ्लुको खतरा सधैँ रहन्छ। राज्यले राजश्व गुमाइरहेको छ। अर्कोतिर अपराध पनि बढेको छ।’
उनले तस्करी गर्न नै नेपाल-भारत सीमामा कुखुरा फार्म बनाउने अनि नेपालको रित्तो फार्म रातारात भारतीय कुखुराले भरिने गरेको उनको दाबी छ।
यसरी रातारात नेपाल ल्याएको कुखुरालाई सरकारी अधिकारीकै मिलेमतोमा नेपाली उत्पादन बनाएर बिक्री गर्ने क्रम बढेको उनको तर्क छ।
‘सीमामा खटिएको सुरक्षाकर्मी, भन्सार प्रतिनिधि लगायतको सहयोग नभई तस्करी सम्भव छैन। कमसेकम गृहले यसमा ध्यान दिनुपर्छ भन्ने हाम्रो माग हो’, उनले भने।
‘तस्बिर मात्र खिचाउँदिन, काम पनि गर्छु’
सीमामा गृह मातहतकै सशस्त्र प्रहरी बल खटिँदै आएको छ। तस्करीमा सो संगठनका सदस्य समेत संलग्न देखिने गर्छ।
भेटमा दुवै संघले भारतीय सीमा नाकाहरूबाट आयात हुने चल्ला, कुखुरा, तयारी मासु, अण्डाहरूको नियन्त्रणका लागि सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिन माग गरेपछि मन्त्री श्रेष्ठले कुरा सुन्ने, फोटो खिच्ने अनि पठाउने मात्र नगरी नतिजा देखिने गरि तस्करी नियन्त्रणमा काम हुने बताएका छन्।
गृहमन्त्री श्रेष्ठले सरकार ह्याचरी मात्र नभई कुनै पनि प्रकारको तस्करी हुन नदिनेगरी अगाडि बढेको आश्वासान दिलाए।
आत्मनिर्भर बनिसकेको दाना र ह्याचरी उद्योगलाई असर पर्ने कुनै पनि गतिविधि सह्य नहुने र यसमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउने भन्दै उनले तत्काल सम्बन्धित निकायलाई मन्त्रालयबाट निर्देशन जाने वचन दिए।
चैत २५, २०७९ शनिबार १६:२८:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।