चितवनका विद्रोही कांग्रेस नेता पार्टीमा फर्किए, उपनिर्वाचनमा पार्टी उम्मेदवारको प्रचारमा

चितवन : स्थानीय तह र मंसिर ४ को संसदीय निर्वाचनमा बागी उम्मेदवारी दिने र समर्थन गर्ने चितवन कांग्रेसका नेताहरू पार्टीमा सक्रिय भएका छन्।
यसअघि गठबन्धनको विरोधमा सक्रिय भएका चितवन कांग्रेसका नेताहरू उपनिर्वाचनमा भने पार्टी उम्मेदवारको पक्षमा खुलेका हुन्।
केन्द्रीय सदस्य दिनेश कोइराला, चितवन कांग्रेसका पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर तामाङ र महासमिति सदस्य मिना खरेलले संयुक्त विज्ञप्ति जारी गर्दै उपनिर्वाचनमा पार्टीको पक्षमा उभिदै कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको प्रचारमा खुलेका हुन्।
उनीहरूले संयुक्त विज्ञप्तिमार्फत् मुलुकका गम्भीर समस्याहरूको समाधानका लागि कांग्रेसमा समग्र एकताबद्ध हुनुको विकल्प नभेटेको उल्लेख गरेका छन्।
कांग्रेसले यसअघिका निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही फुकुवा गरे पनि २०७९ को निर्वाचनमा कारबाही परेकाहरूलाई उपनिर्वाचनको भूमिका हेरेर निर्णय लिने जनाएको थियो। पार्टीको निर्णयसँगै चितवनको पूर्वसभापति विकास कोइराला लगायतको कारबाही फुकुवा भइसकेको छ।
मंसिर ४ मा कोइरालाले चितवन-३ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए। एमालेले समर्थन गरेको थियो। सापकोटा, तामाङ र खरेल स्थानीय तहको निर्वाचनबाट गठबन्धनबाट भरतपुर महानगरको मेयर उम्मेदवार बनेकी रेनु दाहालको विपक्षमा उठेका स्वतन्त्र उम्मेदवारको पक्षमा लागेका थिए।
मेयर र संसदको स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेल भने कांग्रेसमा नफर्कि राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा खुलेका छन्।
चैत २५, २०७९ शनिबार १४:०४:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।