प्रहरीलाई बालेनको चेतावनी : आफूले बाटो मिचेर बनाएको संरचना आफैं हटाउनुस्

प्रहरीलाई बालेनको चेतावनी : आफूले बाटो मिचेर बनाएको संरचना आफैं हटाउनुस्

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कानुनको पालना गर्न लगाउने प्रहरीले नै बाटो मिचेर संरचना बनाएको आरोप लगाएका छन्।

उनले फेसबुकमार्फत प्रहरीलाई बाटो मिचेर बनाएका संरचना आफैं हटाउन आग्रह गर्दै त्यसो नभए समतामुलक कानुनको प्रयोग गर्ने चेतावनी समेत दिएका छन्।

उनले फुटपाथ सधैं मान्छे हिड्नका लागि प्रयोग हुनुपर्छ भनेर फुटपाथमा व्यापार रोकेको र यो नियम सर्वसाधारणका लागि मात्रै होइन सबैका लागि लागु हुनुपर्ने बताए।

‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ। त्यो संरचना प्रहरी आफैंले हटाउनुहोला। नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ति संरचना हटाउन बाध्य हुनेछौं,’ उनले लेखेका छन्।

साथै उनले राजदूतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका उनले बताए।

‘कानुन सर्वसाधारण नागरिकका लागि र अरूका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनुपर्छ,’ बालेनले थप लेखेका छन्।

चैत २५, २०७९ शनिबार १३:५०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।