आईपीएल : खेलाडीलाई ‘कनिका’ छरेर हजारौं करोड कमाउँछ बीसीसीआई

आईपीएल : खेलाडीलाई ‘कनिका’ छरेर हजारौं करोड कमाउँछ बीसीसीआई

एजेन्सी : आईपीएल अमेरिकाको नेशनल फुटबल लिगपछि विश्वको दोस्रो धनी लिग हो। दुई महिनासम्म चल्ने आईपीएल सिजनमा पैसाको भारी वर्षा हुन्छ।

बीसीसीआई, फ्रेन्चाइजी र खेलाडीले करोडौं कमाउँछन्। तर, करोडौं रूपैयाँ आम्दानी गरे पनि खेलाडीले लिगको आम्दानीमा उचित हिस्सा अहिलेसम्म पाएका छैनन्।

विश्वको दोस्रो धनी लिगमा खेलाडीको आम्दानीको हिस्सा अन्य लिगको तुलनामा आधा पनि छैन। लिगको नाफाअनुसार खेलाडीको तलब पनि बढेको छैन।

अन्य लिगको तुलनामा खेलाडीको आम्दानी हालको आम्दानीको तीन गुणा हुनुपर्छ। तर, आईपीएलका खेलाडीहरू तलबको हिसाबमा निकै पछाडि छन्।

नाफा ६ हजार करोडले बढ्दा खेलाडीको तलबमा ५० करोड मात्रै
सिजनमा २४२ खेलाडीको कुल तलब ९१० कराेड ५० लाख रूपैयाँ छ। सबै १० टोलीहरूको अधिकतम तलब क्याप ९५ करोडमा तय गरिएको छ। अर्थात् एक सिजनमा तलबमा कुल खर्च ९५० करोडभन्दा बढी हुन सक्दैन।

यसैबीच, बीसीसीआईले मिडिया राइट्सबाट वार्षिक ९ हजार ६७८ करोड कमाउँछ, जुन पछिल्लो समयको तुलनामा ६ हजार करोड बढी हो।

मिडिया राइट्सबाट हुने हालको आम्दानी खेलाडीको तलब खर्चभन्दा १० गुणा बढी छ। खेलाडीले मिडिया राइट्सबाट एक रूपैयाँ पनि पाउँदैनन्। तलब मात्र पाउँछन्। यो तलब पनि बीसीसीआईको नाफाको दरले बढेको पाइँदैन।

मिडिया राइट्स वार्षिक करिब ६ हजार ४०८ करोड रूपैयाँले वृद्धि भए पनि खेलाडीको तलब सीमा जम्मा ५० करोडले मात्रै वृद्धि गरिएको छ।

विदेशी लिगमा खेलाडीले ५० प्रतिशत पाउँदा आईपीएलमा १८ प्रतिशत मात्रै
नेशल बास्केटबल एशाेशिएसन, नेशनल फुटबल लिग, मेजर लिग बेसबल सबैभन्दा धनी लीगहरू हुन्।

यदि यी लिगले एक सिजनमा २ मिलियन डलर कमाउँछ भने त्यसको १ मिलियन डलर तलबमा खर्च हुन्छ। प्रिमियर लिगले २०२०-२१ सिजनमा आफ्नो नाफाको ७१ प्रतिशत तलबमा खर्च गरेको थियो।

आईपीएलको टिमले मात्र सिजनमा राइट्सबाट ४ हजार ९०० करोडसम्म कमाउँछन्। टिमले प्रायोजन, टिकट बिक्री, जर्सी बिक्री आदिबाट पनि आम्दानी हुन्छ। जसको कुल कमाई ५३०० करोड पुग्ने अनुमान गरिएको छ।

तर, खेलाडीले अधिकतम ९५० करोड मात्र पाउनेछन् अर्थात् कमाइको कुल १८ प्रतिशत मात्र। एक साताअघि सम्पन्न भएको वुमन्स प्रिमियर लिगमा पनि यस्तै अवस्था थियो, जहाँ एक टोलीको तलब सीमा १२ करोड थियो।

लिगको कमाईमा खेलाडीको हिस्सा
प्रीमियर लिग: ७१ प्रतिशत
एमएलबी: ५४ प्रतिशत
एनबीए: ५० प्रतिशत
एनएचएल: ५० प्रतिशत
एनएफएल: ४८ प्रतिशत
आईपीएल: १८ प्रतिशत

टिमहरूको कमाई १२सय करोडसम्म
आईपीएलका टिमहरूले विज्ञापनबाट १ हजारदेखि १२ सय करोड रूपैयाँसम्म कमाउँछन्। सबैभन्दा बढी कमाई जर्सीमा फ्रन्ट लोगो, ब्याक लोगो, हेल्मेट लोगोबाट हुन्छ। जसका लागि टिमले वार्षिक २६-३० करोडसम्म लिने गर्छ।

बाहुला र सुरुवालको विज्ञापनका लागि टोलीले २ देखि १० करोड रूपैयाँ लिइरहेका छन्। चेन्नईले ३ वर्षका लागि १०० करोडको सम्झौता गरेको छ भने मुम्बई र बेंगलुरुले ९० करोड र ७५ करोडको सम्झौता गरेको खबर छ।

राइट्स, टिकट बिक्री पनि आम्दानीको प्रमुख स्रोत हो। ब्रान्डहरूले टिममार्फत खेलाडीहरूलाई विज्ञापनमा खेलाउँछन्। बीसीसीआईको मुख्य कमाई राइट्स र मुख्य प्रायोजकबाट हुन्छ।

कुल रकमको ४० देखि ५० प्रतिशत सहभागी टिमहरूलाई रकम वितरण गरिन्छ। खेलाडीको कपडाको विज्ञापनबाट हुने आम्दानी पूरै टिमले राख्छन् भने विभिन्न ब्रान्डहरूले पनि खेलाडीहरूलाई सम्पर्क नगरी विज्ञापनको लागि टोलीलाई सम्पर्क गर्छन्।

त्यसकारण पनि लिगका खेलाडीको आम्दानीको स्रोत तलब नै हो।

चैत २४, २०७९ शुक्रबार २३:१८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।