गैरआवासीय नेपालीसँगको भेटमा अर्थमन्त्रीले भने- ‘रविजीको नागरिकता प्रकरणपछि केही जटिलता आए’

गैरआवासीय नेपालीसँगको भेटमा अर्थमन्त्रीले भने- ‘रविजीको नागरिकता प्रकरणपछि केही जटिलता आए’

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरेका छन्।

शुक्रबार सिंहदरबारमा भएको भेटमा एनआरएनए प्रतिनिधिले ज्ञापनपत्रमार्फत् आफ्ना समस्या अर्थमन्त्री डा. महतसमक्ष राखेका थिए।

शुक्रबारदेखि अध्यक्षको नेतृत्व सम्हालेका डा. बद्री केसीले ज्ञापनपत्र पढेर मन्त्री डा. महतलाई सुनाएका थिए। ज्ञापनपत्र वाचनपछि तीनैजना अध्यक्ष डा. केसी, कुल आचार्य र रविना थापाले संयुक्तरुपमा मन्त्री डा. महतलाई बुझाएका थिए।

एनआरएनए प्रतिनिधिले लगानीमैत्री वातावरण, नागरिकताको निरन्तरतालगायतका समस्याहरू राखेका थिए।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता प्रकरणपछि केही जटिलता आएको स्मरण गर्दै मन्त्री डा. महतले एनआरएनएको नागरिकताको हकमा संविधानमा भएको व्यवस्थालाई छिटो कार्यान्वयनमा नल्याउँदो व्यावहारिक कठिनाइ भएको बताए।

‘नेपालमा अहिले लगानीको समस्या छ, सुरक्षित लगानीका लागि एनआरएनएको साथमा सरकार छ’ मन्त्री डा. महतले भने, ‘सरकारले एनआरएनएलाई निराश हुने काम कहिले गर्दैन। लगानी गर्न चाहने साथीहरूले कुनै कारणबाट निरुत्साहित हुनुपर्दैन।’

लगानीमैत्री वातावरणमा समस्या भए आर्थिक ऐनमार्फत् सम्बोधन गरिने आश्वासन मन्त्री डा. महतले दिए। आगामी बजेटमार्फत् पनि धेरै कुरा सम्बोधन गर्न सकिने उनले बताए।

भेटमा एनआरएनए संस्थापक महासचिव भीम उदास, वर्तमान कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्व उपाध्यक्ष रामेश्वर साह, सोनाम लामा, एनआरएनए युके पूर्वअध्यक्ष योगेन क्षेत्रीलगायत दर्जन बढीको सहभागिता थियो।

चैत २४, २०७९ शुक्रबार १७:४७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।